हेटौंडा–२ मा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रतिवन्ध
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा ४० माइक्रोन भन्दा कमको प्लाष्टिक झोला प्रतिवन्ध तथा बैकल्पीक झोलाको प्रबर्दन सम्वन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । टोलविकास संस्था वडा नम्बर–२ समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कार्यक्रम भएको छ ।
हेटौंडा–२ का २० वटा टोल विकास संस्थाहरुलाई नमुनाको रुपमा कपडाको झोला वितरण गरी ४० माइक्रोन भन्दा कमको प्लाष्टिकको झोला प्रतिबन्ध लगाउनका लागि यो अभियान सुरु गरिएको हो । यो अभियान अनुसार हेटौंडा–२ का विभिन्न टोल विकास संस्था, सरकारी, गैरसरकारी संस्थाहरुमा यो अभियान अनुसार कार्यान्वयन गराउन लागिएको हो ।
हेटौंडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका सामाजिक विकास महासाखाका प्रमुख विष्णु कुमारी लामिछाने, वातावरण साखाका प्रमुख शान्ति बिश्वकर्मा, टोल विकास संस्था नगरसमन्वय समितिका कोषाध्यक्ष चन्द्रावती पनेरु, टोल विकास संस्था नगरसमन्वय समिति वडा नम्बर–२ का भुगोल इन्चार्ज माया पौडेल, प्रशिक्षक राममायाँ श्रेष्ठ लगायतकाले मन्तब्य राखेका थिए ।







