दैनिक तीन सयलाई सेवा दिँदै हेटौंडा आँखा अस्पताल
मकवानपुर । हेटौंडा सामुदायिक आँखा अस्पतालले दैनिक रूपमा औसत तीन सय बिरामीलाई सेवा दिइरहेको छ । बुधबार अस्पतालले मकवानपुरका सम्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्दै अस्पतालले दैनिक तीन सय बिरामीलाई सेवा दिने गरेको जानकारी दिएको हो ।
जसमध्ये अधिकांश ५० वर्ष नाघेको बिरामी र १० देखि १२ जना बालबालिका आउने गरेको तथ्यांक छ । कार्यक्रममा अस्पतालका प्रमुख डाक्टर सुनिल थकालीले आँखामा हुने रोगबाट बच्ने उपाय जानकारी गराएका थिए । उनले निरोगी व्यक्तिहरूले पनि नियमित रूपमा आँखा जाँच गर्नुपर्ने सुझाव दिए ।
मोतीबिन्दु, जलबिन्दु, मधुमेहले आँखाको पर्दामा हुने असर, आँखाको नानीमा हुने घाउ लगायतको बारेमा जानकारी गराएका थिए । कतिपय आँखामा हुने रोग सामान्य उपचारबाट पनि निको हुने बताउँदै थकालीले बेलैमा उपचार गर्न नसके त्यसले जटिल समस्या उत्पन्न गराउने बताए । थकालीले आँखामा केही सामान्य समस्या आए पनि अस्पताल पुगेर आँखा जाँच गराउन आग्रह समेत गरेका छन् ।
अस्पतालबाट अहिले ३ जना नेत्र रोग विशेषज्ञ, ११ जना नेत्र सहायकसहित ५२ जना कर्मचारीले सेवा दिइरहेका छन् । विश्वको तथ्यांक अनुसार २२ करोड मानिस अन्धोपनको रेखामुनि रहे पनि १० करोड मानिसको दृष्टि फिर्ता गर्न सकिने थकालीले बताए ।
अस्पतालका प्रशासकीय अधिकृत सुधीरभद्र श्रेष्ठले स्वास्थ्य बिमाका कारण भने समस्या हुने गरेको बताए । ‘स्वास्थ्य बिमा बोर्डले समयमा नै भुक्तानी नदिँदा समस्या भएको छ,’ उनले भने, ‘स्वास्थ्य बिमाले जनचेतना बढेर अस्पताल आउने बिरामी बढे पनि कागजी प्रक्रिया, किस्ताबन्दीमा रकम ढिला आउने कारण समस्या भएको छ ।’
अहिले स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले करिब ३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको श्रेष्ठले बताए । दैनिक रूपमा अस्पतालमा स्वास्थ्य बिमा कार्ड बनाएकाहरू करिब १५० जना उपचारको लागि आउने गरेको तथ्यांक छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, मकवानपुरका अध्यक्ष मणिराज गौतम, पूर्वअध्यक्ष राममणि दाहाल लगायतको पत्रकारहरूको उपस्थिति रहेको थियो ।







