थाहा ३ को पहिलो बैठकः वडाका २४ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने
मकवानपुर । स्थानीय तह सदस्य निर्वाचन पश्चात निवार्चित थाहा नगरपालिका वडा नं. ३ समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडाका सरकारी विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने अति विपन्न र जेहन्दार बिद्यार्थीहरुलाई एक बर्षको पूर्ण छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको छ ।
आर्थिक अभावका कारण विद्यालय जान नसक्ने विद्यार्थीहरुलाई विद्यालयमा अध्ययन गर्ने वातावरण सृजना गर्न छात्रबृत्ति दिने निर्णय गरिएको वडा अध्यक्ष रायमाझीले बताए। अध्यक्ष रायमाझीले यो बर्ष वडाका जनकल्याण माविका १० जना, सेतीगणेश आधारभूत विद्यालयका ६ जना, जनता प्राविका ६ जना र पालुङ बहुमुखी क्याम्पसका २ जना विद्यार्थीहरुलाई १ बर्ष सम्म आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गर्ने बताए।
बैठकले वडामा निर्वाचित जनप्रतिनिधिहरुको जिम्मेवरी समेत निर्धारण गरेको छ । त्यस्तै नगरपालिका कार्यालयले गर्ने निशुल्क स्वास्थ्य विमाका लागि वडाका २५ गरिव, बिपन्न, जेष्ठ नागरिक परिवारको छनौट समेत गरिएको छ ।
त्यसैगरी क्रिष्टल बनाउने तालिमका लागि २ जना किशोरी र दलित लक्षित कार्यक्रमको लागि २ जना लाभग्राही समेत छनौंट गरिएको वडा सचिव पाल्साङ लामाले बताए।







