को हुन् मीना लामा ?
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा मिना लामा विजयी भएकी छिन् । नेकपा एमालेका मेयर पदका उम्मेदवार अनन्त प्रसाद पौडेललाई पराजित गर्दै लामा हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गर्ने पहिलो महिला मेयर बनेकी छिन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनबाट हेटौंडा उपमहानगरपालिको बागडोर समाल्न लागेकी लामा २०३३ साल पुष २७ गते हेटौंडा–११ नवलपुरमा जन्मिएकी हुन् ।
मीना शुक्रवीर लामा र सीतादेवी लामाको जेठी छोरी हुन् । बाल्यकाल साधारण रूपमा व्यतित गरेकी उनको राजनीतिक यात्रा २०४६ सालबाट सुरु भएको हो ।
विद्यार्थी जीवनमा नै राजनीतिमा प्रवेश गरेकी उनले हेटौंडा–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयाबाट एसएलसी उत्तीर्ण गरिन् । त्यसपश्चात उनले अध्ययनका लागि मकवानपुर बहुमुखी क्याम्पस रोजिन् ।
मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरी उनले हरिखेतान बहुमुखी क्याम्पस वीरगंजबाट एलएलबी अध्ययन गरिन् ।
अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाएकी लामाले अनेरास्ववियुबाट राजनीति सुरु गरेकी थिइन् । २०५२ सालमा उनले अनेरास्ववियु मकवानपुरको कोषाध्यक्षको जिम्मेवारी पाएकी थिइन् ।
सोही क्रममा २०५४ असार १३ गते सामाजिक परम्परा अनुसार हेटौंडा–१, चाइना क्वाटरका व्यवसायी सुनकुमार लामासँग उनको विवाह भएको थियो । लामाको दुई सन्तान छन् ।
लामाले २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको जिम्मेवारी पाइन् भने २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव पनि भइन् ।
२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्य हुँदै लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्षसमेत भइन् ।
लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा भारी मतले विजयी भइन् ।
उनी त्यतिबेला एमालेबाट उम्मेदवार थिइन् । हेटौंडा उपमहानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि लामालाई उम्मेदवार बनाइएको थियो ।







