मनहरीमा गठबन्धन भारी मतअन्तरले विजयी
मकवानपुर । मनहरी गाउँपालिकामा एमालेका उम्मेदवारलाई हराउँदै गठबन्धनका उम्मेदवार भारी मत अन्तरले विजयी भएको छ । एमालेका अध्यक्षका उम्मेदवार एकराज उप्रेती र उपाध्यक्षका सुजिता थिङ्गलाई भारी मतले पराजित गर्दै गठबन्धनका उम्मेदवार विजयी भएको हो ।
गठबन्धनबाट काँग्रेसको अध्यक्षका उम्मेदवार रञ्जन कालाखेती एमालेका उम्मेदवार एकराज उप्रेतीलाई ४ हजार ३ सय ९६ मतको अन्तरले पछि पार्दे निर्वाचित भएका हुन् । कालाखेतीले ९ हजार ३ सय ६६ मत प्राप्त गरे भने उप्रेतीले ४ हजार ९ सय ७० मत पाए ।
अर्का अध्यक्षको प्रत्यासी नेकपा (एकीकृत समाजवादी)का नारायण श्रेष्ठले १ हजार ६ सय ४ मत पाएका थिए ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उपाध्यक्षको उम्मेदवार सीता पुलामी मगर एमालेकी थिङ्गलाई १३३२ मतले पछि पार्दै निर्वाचित भएकी हुन् । पुलामीले ६४७० मत प्राप्त गरिन् भने थिङ्गले ५१३८ मत प्राप्त गरेकी छिन् ।
एमालेका उम्मेदवार अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए , तर अहिलेको निर्वाचनमा भने गठबन्धनका उम्मेदवार कालाखेतीसँग पराजय व्यहोरेका हुन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा मनहरीमा प्रमुख, उपप्रमुखसहित वडामा आफ्नो वर्चश्व कायम गरेको एमाले यसवर्ष उपस्थितिविहीन भएको छ । एमालेले मनहरीमा कुनै पनि वडामा बाजी मार्न सकेन । मनहरी यस स्थानीय तहको निर्वाचनमा कांग्रेसले ६ र माओवादीले ३ वटा वडामा विजयी भएको छ ।







