मकवानपुरमा नेकपा (एस)का दुई उम्मेदवारको धरौटी नै जफत

अखबार हब
२०७९ जेष्ठ २, सोमबार २३:४४

मकवानपुर । नेकपा एमाले विभाजनसँगै स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालेबाट विजयी भएका मकवानपुरका दुई वटा गाउँपालिका अध्यक्षले यो पटकको निर्वाचनमा लज्जास्पद हार व्यहोरेका छन् ।

मकवानपुरको इन्द्र सरोबर गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा हालका अध्यक्षमा उम्मेदवार जीवन लामा र कैलाश गाउँपालिकाका निवर्तमान अध्यक्ष एवम् हाल अध्यक्षका उम्मेदवार रहेका टंक मोक्तानले लज्जास्पद हार बेहोरेका हुन् ।

कैलाशका टंक मोक्तानले यो पटक १ सय २० मत मात्र ल्याएपछि उनको धरौटी जफत भएको छ । उनले स्थानीय तह निर्वाचन २०७४ मा २ हजार ८ सय २ मत ल्याउँदै एमालेबाट विजयी भएका थिए ।

यसै गरी मकवानपुरको इन्द्र सरोबर गाउँपालिकामा पनि निवर्तमान गाउँपालिका अध्यक्ष जीवन लामाले ४ सय ७९ ल्याएका छन् । गत स्थानीय तहको निर्वाचनमा लामाले ३ हजार २ सय ४ मत ल्याएर एमालेबाट विजयी भएका थिए ।

इन्द्र सरोबर गाउँपालिकाको अध्यक्ष नेकपा एसलाई दिने सहमति भए पनि यहाँ स्थानीय स्तरमा कांग्रेस–माओवादी मिलेर निर्वाचनमा होमिएको थियो ।

(स्रोतः नेपाल प्रेस)

यसमा तपाइको मत

Your email address will not be published.


*