मकवानपुरमा नेता र उम्मेदवारहरुले गरे मतदान, कसले कहाँ गरे मतदान ?
मकवानपुर । मकवानपुरमा विभिन्न पार्टीका केन्द्रीय, प्रदेश स्तरका नेताहरुले मतदान गरेका छन् । धेरैजसो नेताहरुले हेटौंडाका विभिन्न मतदान केन्द्रहरुमा गएर मतदान गरेका छन् । यसैगरी विभिन्न दलमा आवद्ध उम्मेदवारहरुले पनि मतदान गरेका छन् । राप्रपा नेपाल अध्यक्ष तथा पूर्व गृहमन्त्री कमल थापाले मतदान गरेका छन्।
स्थानीय तहको जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत थापाले हेटौंडा ६ मा रहेको वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
उनले मतदान पश्चात प्रतिकृया दिँदै मकवानपुर सहित देशभर राप्रपा नेपालको नेकपा एमालेसँग तालमेल भएको बताए। आफ्नो प्रतिनिधि आफैंले मतदान गरेर छनौट गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । हेटौंडा–६ स्थित बंशगोपाल मावि मतदान केन्द्रमा मतदान गरेपछि संचारकर्मीहरुसंग प्रतिक्रिया जनाउँदै खुशी व्यक्त गरेका हुन् । उनले स्थानीय तहको निर्वाचनले प्रजातन्त्र र संविधानलाई संस्थागत गर्न महत्वपूर्ण योगदान गर्ने बताए ।
स्थानीय तहको निर्वाचन निर्दलीय आधारमा गर्ने बारेमा समेत बहस गर्नुपर्ने बताए । त्यस्तै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले पनि मतदान गरेका छन् । उनले हेटौंडा ११ स्थित त्रिभुवन माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
त्यस्तै बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विहानै मतदान गरेकी छिन् । हेटौंडा–१३ स्थित कालिका आधारभूत मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् । नेपाली कांग्रेस वागमती प्रदेश अध्यक्ष तथा पुर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले मतदान गरेका छन्। स्थानीय तहको जनप्रतिनिधि चयन गर्ने निर्वाचन अन्तर्गत बानियाँले हेटौंडा १८ स्थित कमला आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका हुन् । यता नेपाल परिवार दलका केन्द्रीय सहमहामन्त्री मनोजकुमार सुर्खेतीले पनि सोही ‘ख’ केन्द्रबाट मतदान गरेका छन् ।
नेकपा एमालेबाट हेटौंडाको मेयरको उम्मेदवार अनन्त पौडेलले मतदान गरेका छन् । उनले हेटौंडा–९ स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी दोस्रो संविधानसभामाट तत्कालिन मकवानपुर क्षेत्र नम्बर ३ बाट समेत निर्वाचित भएका थिए । उनले सम्पूर्ण मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन समेत आग्रह गरेका छन् । मकवानपुरमा विहानैबाट मतदान गर्नेको घुँइचो लागेको छ । यसैगरी एमालेबाट उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले पनि मतदान गरेका छन् । उनले नवलपुरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
सत्तारुढ गठबन्धन दलको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरका उम्मेदवार मीना कुमारी लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले मतदान गरेका छन्। मेयरका उम्मेदवार लामाले हेटौंडा १ चौकिटोलमा रहेको रोप्वे भवन मतदान केन्द्रबाट मतदान गरेकी हुन् । त्सैगरी गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार राजेश बानियाँले पनि मतदान गरेका छन्। उनले हेटौंडा९५ स्थित बालज्योति मा वि मतदान केन्द्रबाट मतदान गरेका हुन् । बकैया गाउँपालिकामा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार सरला बोलखेले बकैयामा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ ।







