भरतपुरको मतगणना स्थलमा फलामको बार

अखबार हब
२०७९ बैशाख २९, बिहीबार १५:०६

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मतगणनास्थलमा फलामको तारजाली लगाइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचको मतगणना गर्ने ठाउँमा मतको सुरक्षाका लागि फलामको तारजाली लगाइएको निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धन र विपक्षी दलले प्रतिष्ठाको विषय बनाएका छन् ।

चितवन उद्योग संघभित्र रहेको औद्योगिक प्रदर्शनी केन्द्रमा यसपटक मतगणना गर्ने व्यवस्था मिलाइएको छ । प्रदर्शनी केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने ठाउँ बनाइएको छ ।

मतगणना स्थलमा सिसी क्यामरा र फलामको तारजालीको व्यवस्था गरिएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले जानकारी दिए । ०७४ सालमा भरतपुर कभर्ड हलमा गरिएको मतगणनालाई आयोगले यसपटक प्रदर्शनी केन्द्रमा सारेको हो ।

उम्मेदवारका प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली हालिने सूचना अधिकारी पौडेलले जानकारी दिए । मतगणना स्थलमा आठवटा सिसी क्यामरा जडान गरिसकिएको उनले बताए । उनका अनुसार गणनास्थलमा चौविसै घण्टा विद्युत र इन्टरनेटको सुविधा उपलब्ध हुनेछ ।

मतगणना हुने ब्लकको उत्तरतर्फको प्यासेजमा मतपत्र ल्याएर राखिनेछ । मतपत्र राखिएको प्यासेजको पछाडिपट्टि शौचालय छ । मतगणना गर्ने कर्मचारीले मात्रै उक्त शौचालय प्रयोग गर्ने पौडेलले जानकारी दिए ।

०७४ सालको मतगणनामा तत्कालिन मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने पिसाब गर्न शौचालय गएको बेला मतपत्र च्यातिएको थियो । दलका प्रतिनिधिका लागि मतगणना स्थलबाहिर छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

मतगणना हुने ब्लकको पश्चिमतिरको एउटा कोठामा पत्रकार बस्ने व्यवस्था गरिएको छ । पत्रकारले मुख्य गेटबाट फोटो र भिडियो लिनसक्ने सूचना अधिकारी पौडेलले बताए । मतगणना स्थलको सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको र पर्याप्त सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए ।

भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने अनुमान छ । २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२ मतदाता छन् । महानगरमा ६५ मतदानस्थल र २०२ वटा मतदान केन्द्र रहेका छन् ।

भरतपुर–१० को मतदान केन्द्रमा सबै महिला कर्मचारी

निर्वाचन आयोगले भरतपुर महानगरपालिका–१० स्थित बालमन्दिर आधारभूत विद्यालयका चारवटै मतदान केन्द्रमा महिला कर्मचारीमात्रै खटाएको छ । नमुना मतदान केन्द्रका रुपमा रहेको सो मतदान केन्द्रमा महिलाहरुलाई मात्रै खटाइएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरूषोत्तम पौडेलले बताए ।

एउटा मतदान केन्द्रमा पाँच जना कर्मचारी र तीन जना स्वयंसेवक खटिएका छन् । मतदानस्थलमा म्यादी प्रहरीसहित २१ जना सुरक्षाकर्मी खटाइएको छ । मतदानस्थलको सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक सुष्मा कठायत नेतृत्वको टोली खटिनेछ । यस मतदानस्थलमा तीन हजार ३४२ मतदाता छन् ।

मतदान अधिकृतका रुपमा खटिएकी भरतपुर महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले महिला कर्मचारीले शान्तिपूर्ण र भयरहित ढंगले मतदानको काम सक्ने बताइन् । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् ।

निर्वाचनको कामअन्तर्गत बिहीबार मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणित गर्ने, सर्बदलीय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*