एमालेलाई जिताए भरतपुरको विकास पाँच गियरमा कुदाउछौँ–ओली
चितवन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले जिते भरतपुरको विकासको गति पाँच गियरमा कुदाउने बताएका छन्।
एमाले चितवनले आज यहाँ आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार विजय सुवेदीले जिते विकासको जिम्मा लिने पनि बताए। सुवेदीको पार्टीको माथिल्लो नेतृत्वसँग हटलाइन सम्बन्ध भएको भन्दै उनले विकासमा पहुँच पुग्ने बताए।
भरतपुर महानगरलाई आधुनिक सहरसँग स्मार्ट सिटी बनाउनुपर्ने भन्दै उहाँले यो काम सुवेदीबाट सम्भव भएको बताए। गठबन्धन लामो समय नटिक्ने भन्दै उनले निर्वाचन खटिने राष्ट्रसेवक कर्मचारी, सेना, प्रहरीसँग परोक्ष र प्रत्यक्ष भूमिका खेल्ने सबैलाई विचलित नभई निर्वाचन निष्पक्ष बनाउन आग्रह गरे। “एमाले र एमालेको नेतृत्वको यस अभियानमा कुनै सहयोग गर्नु पर्दैन, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुहोस्।” उनले भने, “निर्वाचनपछि एमालेको सरकार बन्छ।”







