मनहरीमा गठबन्धनको चुनाव लक्षित घरदैलो अभियान
मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिएसँगै गठबन्धनका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारलाई तीब्रता दिएको छ । चुनावी प्रचारप्रसारको क्रममा आज मकवानपुरको मनहरी गाउँपालिकाको गठबन्धनका उम्मेदवारहरुले मनहरी २ मा आज चुनावी घरदैलो तथा कोण सभा गरेको छ ।
कोण सभामा बोल्दै गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका रञ्जन कालाखेतीले अध्यक्षमा निर्वाचित भए पश्चातको सेवा सुविधा नलिने घोषणा गरेका छन् । अध्यक्षले प्रयोग गर्ने सवारी पालिकाको दुर्गम भेगका जनाताले प्रयोग गर्न मिल्ने गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने उनले बताए ।
‘तलब भत्ता गाउँपालिकामा बसोबास गर्ने १० हजारभन्दा कम आय स्रोत भएका जनताको शिक्षा,स्वास्थ्य तथा आयआर्जनको क्षेत्रमा खर्च गर्नेछु’ उनले भने । मनहरी गाउँपालिकालाई एउटा नमुना पालिकाको रुपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताए ।
नेपाली काँग्रेस(वीपी)बाट गाउँपालिका अध्यक्षको उम्मेदवारी दिई फिर्ता लिएका शंकर न्यौपानेले आसन्न निर्वाचनमा काँग्रेसलाई जिताउनका निम्ति आफूले उम्मेदवारी फिर्ता लिएको बताए । हामी एक छौं, दुविधामा नपर्नुस्, हामी सबै मिलेर गाउँपालिका जिताऔं, यसैमा म खुसी छु उनले भने ।
काँग्रेस मकवानपुरका नेता भरत पराजुलीले मनहरी गाउँपालिकामा कालाखेतीले जित्नु भनेको आफूले जित्नु भएको बताउँदै सबैले भोट दिइ उनलाई जिताउन आह्वान गरे ।
काँग्रेस नेतृ जानकी लामा, जानुकी लामा वडा नम्बर २ का उम्मेदवार प्रेम गोम्बालगायत नेता तथा कार्यकर्ताको सहभागितामा घरदैलो तथा कोण सभा भएको काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैलाले बताए ।







