वडा अध्यक्षका उम्मेदवार गौतमको बढ्दो जनलहर
बारा । स्थानीय तह निर्वाचन संघारमा आएसँगै निजगढ नगरपालिका वडा नम्बर ८ को चुनावी माहोल तातेको छ । वडाको नेतृत्वको लागि नेकपा एमालेको तर्फबाट भोला प्रसाद गौतम र काँग्रेसका सोनु लामा चुनावी मैदानमा छन् ।
यद्यपी एमालेका उम्मेदवार गौतमलाई वडाबासीले भावी वडा अध्यक्ष भनेर सम्बोधन गर्न थाली सकेका छन् । अघिल्लो निर्वाचनमा विजयी भएको नेपाली काँग्रेसले जन अपेक्षा अनुसार काम गर्न नसक्दा यति खेर काँग्रेस कार्यकर्ता नै रुष्ट देखिएका छन् । जनताको जनमतको उपेक्षा गर्दै सिमित ब्यक्तिहरुलाई फाइदा पुग्ने गरी योजना छनोट गरेको, योजनाहरु पारदर्शी नभएको ,अन्य वडाहरुमा भन्दा कम विकास भएको, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराहरुमा ध्यान नपुराएको, बहु संख्यक जनता आबद्द भएको कृषि र पशुपालन पेशाको उत्थानका लागि कुनै ठोस कार्यक्रम नल्याएको भन्दै वडावासीले चरम असन्तुष्टि ब्यक्त गरेका छन् । यद्यपी काँग्रेसका समर्थकहरुले भने यसको बचाउ गरिरहेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेले हारेको थियो, यो निर्वाचन जित्छु भन्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा बृद्ध मतदातासँग मज्जाले गफीरहेका उम्मेदवार गौतमले भने , ‘उहाँहरुको आशिर्वाद, युवाहरुको जोश र नेकपा एमालेको जनलहरले हामी बिजयी उन्मुख छौँ । हामी चुनावी एजेन्डाको आधारमा र तथ्याङ्कमा टेकेर जनतासँग मत मागी रहेका छौ, उहाँहरुबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेकाले यो निर्वाचन जितेर जनताको सेवा गर्छु भन्नेमा बिश्वस्त छु’ भुमिहित सुकुम्बासीहरुलाई अव्यवस्थित लालपूर्जाको व्यवस्था गर्ने, शिक्षा, स्वास्थ्य, युवा स्वरोजगार, समृद्ध कृषक ः समुन्नत कृषि पेशा अभियान, दिगो विकास र भ्रष्टाचार मुक्त वडा निर्माणलाई एमालेले प्रतिबद्धता पत्रमा मुख्य प्राथमिकतामा राखेको गौतमले बताए ।







