मेयर भए पश्चातको तलब सुविधा नलिने दीपक सिंहको घोषणा
मकवानपुर । हेटौंडा उपमहानगरपालिको मेयर पदमा उम्मेदवारी दिएका दीपक बहादुर सिंहले सरकारी तलब सुवाधा नलिने घोषणा गरेका छन् ।
एक टेलिभिजन अन्तरक्रिया कार्यक्रममा बोल्दै राप्रपाबाट मेयर पदमा उम्मेदवारी दिएका सिंहले आफूलाई नगरका जनताले जिताएमा सरकारी सुविधा नलिने घोषण गरेका हुन् । उनले भने–‘ म मेयरमा निर्वाचित भएभने मैले पाउने तलब भत्ता हेटौंडामा रहेका असहाय,गरिब र पढ्न नपाएका विपन्न परिवारको शिक्षामा खर्च गर्नेछु ।’ यस अघि पनि आफुले प्राप्त गरेको सम्पूर्ण तलब सुविधा बापतको रकम सिद्धार्थ माविको शिक्षाको निम्ति खर्च गरेको स्मरण गर्दे उनले मेयर भएसँगैको सुविधा नगरको शिक्षा क्षेत्रमा लगाउँने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
सत्ता गठबन्धनप्रति टिप्पणी गर्दै उनले आफूले मकवानपुरे युवाको भविष्यसँग गठबन्धन गरेको बताए । आफूले भ्रष्टचारविरुद्ध गठबन्धन गरेको बताउँदै यस अभियानमा हेटौंडेली बासीले साथ दिनेसमेत उनले बताए ।
आसन्न निर्वाचनमा राप्रपाले जितेको खण्डमा हेटौंडालाई ५ वर्षभित्र महानगरमा परिणत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै उनले हेटौंडामा रहेको एक मात्र सरकारी अस्पतालको काँचुली फेर्ने प्रतिवद्धतासमेत जायर गरेका हुन् ।







