बिदुर हुमागाईंले भने, ‘मकवानपुरगढीमा विकास भएन भनेर विपक्षलेपनि बोल्न सकेनन्’
मकवानपुर । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले बितेको पाँच वर्षमा भएका विकासका विषयमा विपक्षहरुले पनि प्रश्न उठाउन नसकेको बताएका छन् ।
२०७४ मा निर्वाचन जितेर पाँच वर्षीय कार्यकाल चलाएका हुमागाईंले समाजिक, आर्थिक र भौतिक क्षेत्रमा भएका विकासका सम्बन्धमा विपक्षहरुले पनि भएन भनेर भन्न नसक्ने अवस्था नभएको दावी गरेका छन् । हेटौंडाको रेडियो थाहा सञ्चारसँग शुक्रबार बिहान अन्तर्वार्तामा बोल्दै हुमागाईंले भने, ‘मकवानपुरगढी गाउँपालिकामा विपक्षले पनि यो काम गरेन, यो काम भएन भनेर बोल्न सकेका छैनन् ।,’ पाँच वर्ष काम गर्दा जनताले कसरी परीक्षण गरेका छन् र, तपाईंलाई कस्तो महशुस भएको छ भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच वर्षसम्म काम गर्दा जनताले सीमित स्रोत साधन, अभावैअभाव र असहजिलोका बीचपनि तपाईंले जसरी काम उठाउनु भयो, माथिल्ला निकाय र साझेदार निकायको समन्वयमा जसरी काम गर्नसक्नु भयो अबको पाँच वर्षपनि तपाईको आवश्यकता अपरिहार्य छ भनेर भनिरहनु भएको छ ।,’
जनताको अपेक्षाका कारणपनि आफ्नो उम्मेदवारी जरुरी भएको उनले दावी गरे । विकास कतैबाट बजेट ल्याएर गरौंला भन्दापनि जनता र सरकारकै अन्य निकायसँग साझेदारी गरेर अगाडि बढेकोले विकासमा उल्लेख्य काम गर्न सकिएको उनको भनाई थियो । उनले बितेको पाँच वर्षमा स्थानीय सरकारको आधार तयार गरिएको बताएका छन् ।
नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार हुमागाईंले स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले हरेक गतिविधि जनमुखी बनाउनु पर्छ भन्ने ढंगबाट पाँच वर्षमा काम गरिएको बताएका छन् । जन अपेक्षा अनुसार काम गरिएको भन्दै उनले आर्थिक, सामाजिक र भौतिक विकासका काम धेरै भएको उनले बताए ।
सुशासन प्रवद्र्धनका क्षेत्रमा गाउँपालिकाले उल्लेख्य काम गरेको उनको भनाई छ । पाँच वर्षमा कतिपय महत्वपूर्ण कामले पूर्णता पाइसकेको तर, केही महत्वपूर्ण योजनाले पूर्णता नपाइसकेको भन्दै उनले अधुरा कामलाई पूरा गर्नका लागि र सुशासनसहितको समृद्ध मकवानपुरगढी गाउँपालिका निर्माण गर्नका लागि थप नयाँ योजनासहित प्रस्तुत हुनुपर्ने भएकोले पुनः अध्यक्षको उम्मेदवारका रुपमा पार्टीले आफूलाई सिफारिस गरेको बताए ।
गाउँपालिकाको सामाजिक र आर्थिक विकासलाई गाइडलाइन दिने महत्वपूर्ण पाटो भौतिक पूर्वाधार विकास भएकोले पाँच वर्षमा भौतिक क्षेत्रका काम गरिएको उनले बताए । विगतमा मकवानपुरगढीबाट बसाईं सरेर जाने क्रमलाई रोक्न कृषि तथा पशुपालनसँगै भौतिक विकासका क्षेत्रमा धेरै महत्वपूर्ण काम गरिएको उनले जनाए । शिक्षा क्षेत्रमा पनि गुणस्तरीय पठनपाठनको लागि गाउँपालिकाले बितेको पाँच वर्षमा काम गरेको उनले बताए । मकवानपुरगढीमा बसोबासका लागि उपयुक्त छ भन्ने सन्देश दिइएको उनको दावी थियो । सिचाईं, खानेपानी, सडक, पुलपलेसा बनाएर स्थायित्व दिइएको उनको भनाई छ ।
लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै हुमागाईंले मकवानपुरगढीलाई बालमैत्री स्थानीय अबलम्ब गर्ने गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भइएको जानकारी दिए ।







