दोषी ठहर नभएपछि सिग्देल र सुवेदीको उम्मेदवारी सदर
मकवाननपुर । आसन्न स्थानीय निर्वाचनका लागि एमालेबाट वडा अध्यक्षमा मनोनयन दर्ता गराएका दुई उम्मेदवारको मनोनयन सदर भएको छ । हेटौंडा उपमहागरपालिका वडा नम्बर ४ र हेटौंडा–१९ को वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका क्रमशः नविन सिग्देल र नरनाथ सुवेदीविरुद्ध परेको उजुरी सदर भएको हो। उनीहरुमाथि परेको उजुरी छानबिन गर्दा दोषी ठहर नभएपछि निजहरुको उम्मेदवारी सदर भएको सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
हेटौंडा–४ को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका सिग्देलविरुद्ध अवैधानिक उपभोक्ता समिति गठन गराई राज्य कोषको रकम निकासा गरेको आरोपमा उजुरी परेको थियो भने हेटौंडा–१९ को वडाध्यक्ष पदका लागि उम्मेदवारी गर्दा गराएका सुवेदीविरुद्ध कर छलीको आरोपमा उजुरी परेको थियो । दुबै जना यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
यस्तै, हेटौंडा–१ को खुल्ला सदस्यमा मनोनयन दर्ता गराएका पवन थोक्करको उम्मेदवारी बदर भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका थोक्करको उम्मेदवारी अनुमति पत्र नियमसंगत नभएको हुँदा बदर भएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।







