बकैयामा तोडियो गठबन्धन, कांग्रेस एक्लै निर्वाचन लड्ने

अखबार हब
२०७९ बैशाख ११, आईतवार १४:५७

मकवानपुर । पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा सत्ता गठबन्धन बीचको सहमति तोडिएको छ ।

मनोनयन गर्ने दिनमा समेत गठबन्धनले उम्मेदवार टुंगो लगाउन नसकेको भन्दै जिल्लाको बकैया गाउँपालिकामा कांग्रेस एक्लै निर्वाचन लड्ने निर्णय भएसँगै गठबन्धन तोडिएको हो ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय छ । तर, आज उम्मेदवारी दर्ता गर्ने समयसम्म पनि गठबन्धनले टुंगो लगाउन नसकेको भन्दै कांग्रेस बकैया गाउँ समितिले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो ।

हेटौँडा–२ स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस गाउँ समिति र १२ वटै वडा समितिले गठबन्धनका दलसँग मित्रवत् प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । पार्टीको माथिल्लो निकायबाट कुनै निर्देशन नआएको भन्दै बकैयाले गठबन्धन नगर्ने निर्णय गरेको कांग्रेस गाउँ सभापति दिलबहादुर भोम्जनले बताए ।

मकवानपुरका १० स्थानीय तहमा हालसम्म गठबन्धनले उम्मेदवार टुंगाएको छैन । भागबण्डामा सहमित जुट्न नसकेपछि जिल्लास्तरीय गठबन्धनले प्रदेशको जिम्मा लगाएको थियो । प्रदेश गठबन्धन संयन्त्रले आज साँझसम्म भागबण्डा टुंगो लगाउने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*