एमाले हेटौंडाको चुनावी घोषणाः मासिक १० हजार लिटर निःशुल्क खानेपानी, हिडिम्बा टावर निर्माण

अखबार हब
२०७९ बैशाख ९, शुक्रबार २१:००

मकवानपुर । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनो लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । यसै सन्दर्भमा एमाले हेटौंडा उपमहानगर कमिटीले पनि नगरभित्र गर्ने कामहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

एमाले हेटौंडा नगर कमिटीले सार्वजनिक गरेको घोषणापत्र अनुसार नगरभित्रका हरेक घरमा मासिक १० हजार लिटर निःशुल्क खानेपानीदेखि हेटौंडाको परिचय तथा परम्परागत संस्कृति झल्काउने ‘हिडिम्बा टावर’ निर्माण गर्ने सम्मका योजनाहरु रहेका छन् ।

घोषणा पत्रमा एमालेले हेटौंडा उपमहानगरपालिकाको आगामी ५ वर्षको योजनाको रुपमा मुख्यगरी दीर्घकालीन सोच सहितको योजनाबद्ध विकास, पूर्वाधार तथा शहरी विकास, आर्थिक विकास, सामाजिक सांस्कृतिक विकास, वन, वातावरणको संरक्षण तथा विपद् व्यवस्थापन, सुशासन र संस्थागत विकास तथा राजस्व, खर्च, बाह्य स्रोत र सहकार्यलगायतका बुँदाहरुमा केन्द्रित रहेर योजनाहरु निर्माण गरेको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकालाई समय–समयमा रणनीतिक परामर्शका लागि सबै पक्ष समेटेर नगर विकास परिषद् गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्यांकनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरु योजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने, नगर यातायात गुरुयोजना तयार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यसैअनुरुप हेटौंडाको यातायात व्यवस्थापन तथा संघीय सरकारको निर्देशनअनुसार २५ मिटर सडक विस्तार गर्ने अथवा वैकल्पिक सडक निर्माणको काम गर्ने भन्ने विषयलाई पनि कार्यान्वयन गर्ने, नगर भित्रका अभिभावकविहीन तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४औं स्थापना दिवसको अवसरमा नेकपा एमालेका केन्दीय सदस्य रामेश्वर राना र केन्द्रीय सल्लाहकार सदस्य डोरमणी पौडेलले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए भने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रतिबद्धतापत्र समेत घोषणा (वाचन) गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*