निजगढमा गठबन्धनबीच दुरी बढ्दैः एक्लै निर्वाचनमा आउन काँग्रेसलाई माओवादी केन्द्रको चुनौती
बारा । सत्तारुठ पाँच दलीय केन्द्रीय गठबन्धबीच आसन्न स्थानीय तहको निर्वाचनमा एक भएर निर्वाचनमा होमिने निर्णय भएता पनि निजगढ नगरपालिकामा भने गठबन्धन दलहरुबीच दुरी बढ्दै गएको छ ।
निर्वाचन कार्यालयको तालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता गर्न तीन दिन बाँकी रहँदासमेत दलहरुबीच सहमति हुन सकेको छैन । पटकपटकको बैठक निर्णयविहीन भइरहँदा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सन्तोष दंगालले भने गठबन्धनकै एक घटक नेपाली काँग्रेसलाई एक्लै निर्वाचनमा आउन चुनौति दिएका छन् ।

गठबन्धन दलहरुबीच तालमेल अन्तिम चरणमा पुग्नै लागेको बखत अध्यक्ष दंगालले सामाजिक सञ्जाल फेसबुकमा नेपाली काँग्रेसको तर्फबाट निजगढ नगरपालिकाको मेयरका प्रत्याशीसमेत रहेका खड्गराज मैनालीको फेसबुक स्टाटसमा टिप्पणी गर्दै चूनौती शैलीमा ‘काँग्रेसमा दम भए एक्लै लड्ने हिम्मत गरोस्’ भन्दै अभिव्यक्ति दिएका छन् ।
अध्यक्ष दंगालको यस किसिमको टिप्पणीले निजगढ नगरमा गठबन्धनको सहमतिलाई थप पेचिलो बनाएको छ ।
यता नेपाली काँग्रेस निजगढ नगर कार्यसमितिका सभापति नवराज तिमल्सिनाले भने दंगालको यस किसिमको भड्किलो टिप्पणीप्रति केही बोल्न चाहेनन् ।







