स्थानीय निर्वाचन-२०७४ फर्केर हेर्दा : हेटौंडा उपमहानगरमा कसको अवस्था कस्तो ?
मकवानपुर । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवार उठाउने गरि सहमति जुटाएका छन् ।
यो अवस्था बनेसँगै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र प्रतिपक्ष नेकपा एमाले बीच हेटौंडा उपमहानगरपालिकामा रोचक र चर्को प्रतिस्पर्धा हुने देखिन्छ ।
२०७४ मा सम्पन्न स्थानीय तहको मत परिणामलाई आधार मानेर प्रमुख दुई प्रतिस्पधीले यसवर्ष प्राप्त गर्ने सम्भावित मतको केही आंकलन गर्न सकिन्छ । नयाँ मतदाताको निर्णय, उम्मेदवारको छनोट र स्थानीयस्तरमा उनीहरुको लोकप्रियता, यसअघि विजयी उम्मेदवार र पार्टीको कार्यकुशलता र गठबन्धनप्रति दलहरुको इमान्दारिताले यस पटकको मतपरिणामलाई प्रभावित पार्नेछ ।
नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले एमालेको मत कति काट्छ भन्ने निश्चित छैन ।
त्यस्तै राप्रपाबाट अलग भएर नयाँ पार्टी बनाएका कमल थापाले राप्रपाको कति हिस्सा प्रभावित गर्छन् भन्ने पनि अनुमान गर्न नसकिने छ । यसले पनि चुनावी परिणामलाई प्रभावित पार्ने देखिन्छ ।
०७४ सालको मत परिणाम हेर्दा कांग्रेस नेतृत्वको गठबन्धन र एमालेको अवस्थाको आधारमा हेटौंडा उपमहानगरपालिकामा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।
हेटौंडा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा थियो, तर बाजी एमालेले मा¥यो । एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १२४ मत ल्याएर निर्वाचित भए । माओवादी केन्द्रको समेत समर्थन पाएका कांग्रेस उम्मेदवारले २२ हजार ५०९ मत ल्याए ।
गठबन्धन आवद्ध दलका उम्मेदवारले मेयरमा पाएको मत २३ हजार ६१५ पुग्छ । यो एमालेले प्राप्त गरेको मतभन्दा ४९१ मत कम हो । यसपटक एमालेले कमल थापा नेतृत्वको राप्रपा नेपालसँग तालमेल गरेको छ ।
गत चुनावमा राप्रपाले ६ हजार ८५७ मत प्राप्त गरेको थियो । यसरी हेर्दा एमाले गठबन्धनको उम्मेदवारका लागि यो चुनावमा थप अनुकूलता देखिन्छ ।
वडाध्यक्षका उम्मेदवारहरुको मत हेर्दा पनि हेटौंडा उपमहानगरमा एमाले गठबन्धन बलियो देखिन्छ । एमालेका उम्मेदवारहरुले २१ हजार ७०९ मत ल्याउँदा काँग्रेस गठबन्धनले २८ हजार ३१५ मत ल्याएको देखिन्छ । एमाले एक्लै उभिदा ६ हजार ६०६ मत ल्याए पनि राप्रपा नेपालका वडाध्यक्षहरुले प्राप्त गरेको मत ७ हजार ५४ देखिन्छ । यद्यपि, राप्रपा र एमाले विभाजनले यो हिसाबकिताब प्रभावित भने हुनसक्छ ।







