कांग्रेस मकवनपुरका इतर समूहले भन्यो : केन्द्रीय सहमति मान्दैनौं, एक्लै उठिन्छ

अखबार हब
२०७९ बैशाख ८, बिहीबार ११:१८

मकवानपुर । सत्ता गठबन्धन दलहरुबिचको भागबन्डामा हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा परेसँगै नेपाली कांग्रेस मकवानपुरका संस्थापन इतरका समुहले विरोध जनाएका छन् । कांग्रेस मकवानपुरका बहुमत पदाधिकारी संस्थापन इतर समूहका छन् ।

विहिवार हेटौंडा–२ स्थित कांग्रेस पार्टी कार्यालयमा इतर समूहका जिल्ला पदाधिकारी तथा पूर्वसभापतिहरुले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे ‘केन्द्रीय सहमति’ अमान्य हुने बताएका छन् । ‘केन्द्रले गरेको निर्णय पुनरावलोकन नगरी यथास्थितिमा निर्वाचनमा जाँदा गठबन्धनको आवश्यकता, औचित्य र मर्मविपरित परिणाम आएमा त्यसप्रति हामी र आम कांग्रेस कार्यकर्ता जिम्मेवार र जवाफदेही नहुने स्पष्ट पार्दछौं ।’, उपसभापति आनन्द कठायतले भने । उनीहरुले कांग्रेसले एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनी समेत दिएका छन् ।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समितिका पदाधिकारी तथा नगरका १९ वटै वडा सभापतिहरुको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरुसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ ।’, उनले भने, ‘गठबन्धन दलहरुबीच भागबण्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौंडाको वस्तुगत अवस्थाबारे जानकारी नलिइ कार्यकर्ताको मर्म र भावनालाई पूर्णरुपमा वेवास्ता गर्दै गरेको सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ ।’

कांग्रेसको तर्फबाट हेटौंडाको मेयरको उम्मेदवारमा पार्टी पूर्वसचिव आनन्दराम पराजुली र नेविसंघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालको नाम चर्चामा थियो । नेकपा समाजवादीको तर्फबाट जिल्ला अध्यक्ष श्रीधर पोखरेल र हेटौंडाकी उपमेयर मीना लामाको नाम सिफारिस भएको छ ।

प्रेस विज्ञप्ति

यसमा तपाइको मत

Your email address will not be published.


*