संविधान रक्षाका लागि गठबन्धन आवश्यक : मुख्यमन्त्री पाण्डे

अखबार हब
२०७९ बैशाख ३, शनिबार २१:००

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको)द्वारा सञ्चालित मनमोहन मेमोरियल अस्पतालको १६औं वार्षिक साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले संविधान, संघीयता र समावेशी लोकतन्त्रको रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताए ।

‘संविधान रक्षाका लागि लागेका दलहरू सँगसँगै अगाडि बढ्दै देशको विकासलाई अगाडि बढाउन गठबन्धन आवश्यक छ,’ उनले भने । प्रगितमनकारी दलहरूबीच हुन लागेको गठबन्धनले पाँच दलीय गठबन्धनलाई कुनै फरक नपर्ने उनको भनाइ थियो ।

मनमोहन मेमोरियल अस्पतालका संस्थापक अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले मनमोहन अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा प्रदान गर्नका लागि विदेशी लगानी भित्र्याउनुपर्ने बताएका थिए । ‘अस्पताललाई अब नयाँ ढङ्गले सञ्चालन गर्नुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशले उच्च शिक्षा ऐन पारित गरेको भन्दै सोही ऐनअनुसार मनमोहन अस्पताललाई पनि विश्वविद्यालयका रूपमा अगाडि बढाउन सकिने धारणा राखेका थिए । उनले मनमोहन अस्पतालमा कर्मचारी भर्ना, बढुवा, सरुवा गर्दा निश्चित मापदण्ड बनाउनुपर्ने भन्दै नयाँ सञ्चालक समितिलाई इमानदार र लगनशील भएर काम गर्न आग्रह गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*