मनहरीमा एक्लाएक्लै चुनावमा जाने गठबन्धन दलहरुको रहर

अखबार हब
२०७९ बैशाख ३, शनिबार १७:४४

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचमा सझा उम्मेदवार छनोटको विषयलाई लिएर गठबन्धन दलहरुबिच पटक–पटक बैठक बसिसकेको छ । काँग्रेस नेतृत्वमा बसेको गठबन्धनको बैठकमा ठोस कुनै निर्णय भने भएको छैन । तर सत्ता गठबन्धनमा रहेका दलहरुबीच एक्लाएक्लै निर्वाचनमा होमिनुपर्ने चर्काे आवाज उठिरहेको छ ।

अघिल्लो निर्वानको परिणामलाई आधार मान्दा नेकपा एमालेपछि दोस्रो शक्तिको रुपमा नेपाली काँग्रेस रहेको छ । त्यतिखेर एमालेका एकराज उप्रेतीले ४ हजार ६ सय ४९ मत ल्याएर बिजयी हुनु भएको थियो भने काँग्रेसका शंकर न्यौपानेले ४ हजार ३ सय ४० मत प्राप्त गरेका थियो । उपाध्यक्षमा पनि नेकपा एमालेकी मनिला विष्टले ५ सय ४ मत बढी अर्थात ४ हजार ६ सय ३१ मत प्राप्प गरेको थियो । उपाध्यक्षमा काँग्रेसकी कमला कार्कीले ४ हजार १ सय ६७ मत प्राप्त गरेकी थिइन् ।

तेस्रो दलको रुपमा नेकपा माओवादी केन्द्रतर्फबाट अध्यक्षका उम्मेदवार रामहरि सुवेदीले २ हजार ९ सय ६० मत प्राप्त गरी तेस्रो स्थानमा रहको थियो । उनकै प्यानलमा रहेकी उपाध्यक्ष उम्मेदवार चन्द्रकला खनालको सुवेदीले भन्दा ५० मत कम ल्याएकी थिइन् ।

गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच मनहरीमा पनि गठबन्धन गर्ने तयारी भइरहँदा यसअघि प्राप्त भएको मतबारे समिक्षा हुन थालेको छ । तर, नेकपा एकीकृत समाजवादीको जनमत परिक्षण नभएका कारण उसले दाबी गरेको मत काँग्रेस र माओवादीले सजिलै स्वीकार गरिरहेको छैन ।

समाजवादी मनहरी गाउँ कमिटी अध्यक्ष नारायण श्रेष्ठले गठबन्धन बैठकमा गाउँपालिका भरका अनुमानित मतदाता सबै राजनीतिक दलहरुले प्रस्तुत गर्ने काम भएको र उक्त तथ्याङ्क आफ्ना दलका जिल्ला कमिटीहरुमा पठाउने निर्णय भएको बताए ।

सोही बमोजिम काँग्रेस, माओवादी र समाजवादी पार्टीले आफ्ना वडा कमिटी, टोल कमिटी र अनुमानित मतदाता संख्या जिल्ला कमिटीमा बुझाएको छ । तर, तीनैवटा दलले नेतृत्व आफूले पाउनुपर्ने दाबी छाडेका छैनन् । अघिल्लो निर्वाचनमै दोस्रो स्थान हासिल गरेको र संसदीय निर्वाचनमा प्रदेश निर्वाचन क्षेत्रमा समेत जीत हासिल गर्न उल्लेख्य भूमिका मनहरी गाउँपालिकाका मतदाताको रहेकाले काँग्रेसले यसपटक अध्यक्ष आफैले पाउनुपर्ने दाबी छाडेको छैन । कम्युनिष्ट पार्टीहरुमा फुट आएकाले पनि एक्लै चुनावमा जाँदा जीत हासिल गर्न सक्ने अनुमान काँग्रेसको रहेको काँग्रेसका एक नेताको भनाइ छ । तर, गठबन्धन गरेरै अघि बढ्नुपर्छ भन्ने मत पनि काँग्रेसमा बलियो नै छ ।

यता माओवादीले आफ्नो संगठनलाई बलियो बनाएको दाबी गरेको छ । हरेक वडा र टोल टोलमा निर्माण भएका कमिटीका आधार र तत्कालीन तेस्रो स्थान हासिल गर्दाको मत परिणाम बिश्लेषण गरी माओवादीले एक्लैले चुनाव जित्न सकिने निष्कर्ष पनि निकालेको स्रोत बताउँछ । तर, गठबन्धन केन्द्रीय निर्णय भएकाले अमान्य हुने तर्क भने माओवादीभित्र पनि छैन । काँग्रेस एकल ढंगले अघि बढे समाजवादीसँग मात्रै गठबन्धन गर्दा पनि चुनाव जित्न सकिने तर्क माओवादीको छ ।

यता समाजवादीले पनि एमालेभन्दा आफ्नो जनमत बढी नै रहेको दाबी गरेको छ । एमालेबाट अलग भएर बनेको समाजवादीले पछिल्लो समय काँग्रेस र राप्रपाका असन्तुष्ट र स्वतन्त्र रहेर समाजमा योगदान गरिरहेकाहरुलाई समेत समेटेर ठूलो दल बनाएको दाबी गरेको छ । ‘निर्वाचनमा एक्लाएक्लै जान पनि हामी तयार भएका छौँ’, नेकपा एकीकृत समाजवादी मनहरीका अध्यक्ष नारायण श्रेष्ठले भने–‘समाजवादीको अस्तित्व अस्वीकार गरेर साझेदार दलहरुले सम्मानजनक हैसियत नमानेमा त्यो बाटो खुल्ला नै छ ।’ यद्यपि केन्द्रीय निर्देशन बमोजिम गठबन्धन गर्नका लागि पार्टीले भूमिका खेल्ने उनको भनाई छ ।

तर, समाजवादी पार्टीले दाबी गरेको जनमत काँग्रेस र माओवादीले सहजै स्वीकार गरेको छैन । एककापसमा गठबन्धन नहुने हो भने तीनैवटा पार्टी एकल चुनावमा जान पछि नहट्नेगरी तयारीमा छन् । तीनैवटा दलले आफ्ना कार्यक्रमहरुलाई टोलतहसम्म लगिरहेको अबस्था छ । त्यसो त गठबन्धन हुँदा पनि तीनैवटा पार्टीमा प्रत्यासीहरुको संख्या बढेकाले ‘बागी’ उम्मेदवारहरु खडा हुने सम्भावना पनि उत्तिकै छ । त्यसो हुँदा फेरि एमाले विरुद्ध गरिएको गठबन्धनले एमालेलाई नै फाइदा पुग्न सक्ने अनुमान पनि राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*