भरतपुरमा काँग्रेसको गनगन सकियो,हँसिया हथौडामा भोट हाल्ने निश्चित
चितवन । गठबन्धन दलहरुबिच तालमेलको सहमति जुटेसँगै भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रले पाउँने निश्चित भएको छ ।
माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेणु दाहाललाई नै उम्मेदवार बनाउन चाहेको छ । रेनु माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिएपनि गठबन्धन नेतृत्वले त्यसलाई नजरअन्दाज गरेको छ ।
गठबन्धनका बैठकहरुमा सहभागी नेताहरुका अनुसार भरतपुर महानगरको मेयर माओवादीले नै राख्ने निश्चित भइसकेको छ । तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेणुलाई नै मेयर बनाउने सहमति बनिसकेको छ ।
‘भरतपुरको मेयर कांग्रेसले नपाउने निश्चित भइसक्यो । गठबन्धनले बनाएको मापदण्डले पनि यसअघि माओवादीले जितेको भरतपुरमा कांग्रेसको दाबी कमजोर भइसकेको छ । सभापतिले प्रचण्डलाई वचन दिइसक्नुभयो’, कांग्रेसका एक नेताले भने ।
ती नेताका अनुसार चितवनमा कांग्रेसको तर्फबाट हुनसक्ने विद्रोहलाई राजनीतिक रुपमा व्यवस्थापनको प्रयास भने गरिनेछ । ‘अहिले चितवनमा कांग्रेसले एउटा गाउँपालिकामात्रै जितेको छ । भरतपुरको मेयर माओवादीले पाएपनि चितवनमा कम्तिमा पाँच स्थानीय तहमा नेतृत्व र अन्यमा सह–नेतृत्व कांग्रेसले लिनेछ । त्यसबाट गठबन्धनको माहोल बन्न मद्दत पुग्नेछ’, ती नेताले भने ।
भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् । कांग्रेस सभापति देउवाले केन्द्रीय समितिको बैठकमा चितवनमा एक्लै लडेर कांग्रेसले नजित्ने दाबी गरेका थिए । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए ।
निरन्तरको आग्रहका बावजुद भरतपुरमा कांग्रेसले मेयर नपाए अन्तरघात र बागी उम्मेदवारीको अधिक सम्भावना देखिन्छ । ‘यदि भरतपुरको मेयरमा कांग्रेसको च्याप्टर क्लोज भएको हो भने जसले यस्तो निर्णय लिए परिणामको भागीदार पनि उनीहरु नै हुनुपर्छ’, चितवन कांग्रेसका एक नेताले भने । ती नेताका अनुसार माओवादीले भरतपुरको मेयर पाए कांग्रेसको असन्तुष्टिले परिणाममा असर पार्नसक्छ । मंगलबार मात्रै भरतपुर महानगरका २९ वटा वडाका कांग्रेस सभापतिहरुले मेयर नपाए विद्रोह गर्ने लिखित चेतावनी दिइसकेका छन् ।
६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने निश्चित छ । भरतपुर माओवादीले पाउने निश्चित हुँदा नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा दाबी गरेका छन् ।







