मकवानपुरका १९ वटा मतदान स्थल अतिसंवेदनशील
मकवानपुर । मकवानपुरका १९ वटा मतदान स्थलहरु अतिसंवेदनशील अवस्थामा रहेका छन् । सुरक्षाका दृष्टिकोणले जिल्लाका कुल १६५ वटा मतदान स्थलहरुमध्ये १९ वटा अतिसंवेदनशील अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाका ६० वटा मतदान स्थलहरु संवेदनशील र बाँकी ८६ वटा कम संवेदनशील (सामान्य) अवस्थामा रहेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरका १० वटा स्थानीय तहमा कुल जम्मा १६५ वटा मतदान स्थलहरु कायम गरिएको कार्यालयले जनाएको छ ।
त्यस्तै उक्त मतदान स्थलहरुमा ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । जिल्लामा स्थानीय तहको निर्वाचन भयरहित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का आधारमा सुरक्षा व्यवस्था अपनाइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
उनले निर्वाचनको लागि गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएको बताए । विशेष सुरक्षा योजनाका आधारमा जिल्लाका करिव ४० प्रतिशत भन्दा बढी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने कार्य सुरक्षा समितिका पदाधिकारीहरूबाट भइसकेको उनको भनाई छ । अन्य बाँकी मतदान स्थल तथा मतदान केन्द्रहरूको निरीक्षण गर्ने काम जारी रहेको उनले बताए ।







