गाउँपालिका अध्यक्षको घरमा माओवादी र समाजवादीका कार्यकर्ताले गरे आक्रमण
सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी र समाजवादी कार्यकर्ताले घेरा हालेर आज आक्रमण गरेका छन् । आफ्नो र छिमेकीको घरमा समेत ढुंगामुढा गरिएको फडेराले बताए ।
आज दिउँसो साढे बाह्र बजेदेखि करिब एक घण्टा आक्रमण भएको थियो । ढुंगामुढा हुँदा फडेरासहित उनकी श्रीमती र राष्ट्रिय सभाका सदस्य कविता बोगटी घरभित्र थिए । आक्रमणबाट घरमा क्षति पुगेको छ, भने नियन्त्रणका क्रममा एक असई घाइते भएका छन् ।
माओवादीले हिजो आफ्नो पार्टीका कार्यकर्ताको पसल र होटेलमा एमाले कार्यकर्ताहरूले तोडफोड गरेको भन्दै त्यसको प्रतिवाद गरिएको जनाएको छ । हिजोको घटनामा फडेरा पनि संलग्न रहेको दाबी माओवादीको छ ।
नेकपा माओवादी हुम्लाका जिल्ला सचिव धर्मराज बोहराले अदानचुलीमा विवाद भएको बताए ।
‘अध्यक्ष फडारासँगै रहेका कार्यकर्ताले बिच बजारमा रहेका नवराज होटेल र अनिता बुमीको पसलमा तोडफोड गरेको पाइयो,’ उनले भने, ‘त्यसैको प्रतिकार स्वरूप हाम्रा कार्यकर्ताले आज अध्यक्षको घरमा आक्रमण गरेका हुन् ।’
अनिता बुमी नेकपा माओवादीकी प्रदेश कमिटी सदस्य पनि हुन् । फडेराले भने एमाले कार्यकर्ताबाट आक्रमण भएको अस्वीकार गरेका छन् ।







