दुई सुकुमबासीलाई लालपूर्जा दिन तामझामसाथ पुगिन् मन्त्री श्रेष्ठ
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा रहेका दुई सुकुमबासी परिवारलाई लालपूर्जा दिन शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ पुगिन्।
गाउँपालिकामा एक हजार सात सयभन्दा धेरै घर भूमिहीनहरू रहे पनि जम्मा दुई परिवारलाई पूर्जा वितरण गर्न मन्त्री श्रेष्ठ यहाँ आइपुगेकी हुन्।
दलित सुकुमबासीहरूलाई पूर्जा वितरण गर्न सार्वजनिक सूचना प्रकाशन गर्नु नपर्ने भएकाले दुई परिवारलाई मात्र अहिले पूर्जा दिन सकिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाको वडा नम्बर ४ मा रहेको कृष्ण बहादुर दर्नाल र तीर्थ बहादुर विश्वकर्मालाई पूर्जा वितरण गरिएको हो। दर्नाललाई १४८ वर्गमिटर र विश्वकर्मालाई १४७ वर्गमिटरको जग्गाको पूर्जा प्रदान गरिएको हो।
गाउँपालिकाले ३० परिवार भूमिहीन सुकुमबासीका लागि ७ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ। उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेर पूर्जा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष सर्केस घलानले बताए। यद्यपि कार्यक्रममा उपस्थित केही सर्वसाधारणले भने निर्वाचन नजिकिएका कारण चुनावी रणनीति भएको भन्दै आलोचना गरेका थिए।







