बर्डफ्लु नियन्त्रणका लागि रातोमाटेमा चेकपोष्ट, आरडीटी रिपोर्ट अनिवार्य
मकवानपुर । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि प्रयास अघि सारेको छ । सोही अन्तर्गत आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा चेकपोष्टको स्थापना गरेर बर्डफ्लु नियन्त्रणका लागि काम सुरु गरेको हो ।
बर्डफ्लोग धेरै जिल्लामा फैलिएकाले यसको नियन्त्रणका लागि अस्थायी चेकपोष्ट स्थापना गरेर काम सुरु गरिएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाले जनाएको छ ।
अस्थायी चेकपोष्टको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन् गरेका थिए। प्रदेशका केही जिल्लामा बर्डफ्लुरोग धेरै किसानले पालेका कुखुरामा देखिन थालेकाले यसको नियन्त्रणका लागि चेकजाँचमा कडाई गरिएको उनले बताए ।
तराइका जिल्लाहरुबाट आएका कुखुराहरुको स्वास्थ्य प्रमाणपत्रसहित आरडीटी परीक्षण रिपोर्ट अनिवार्य हुनुपर्ने यदी नभएमा रातोमाटेबाटनै कुखुरा फिर्ता गरिने भएको छ ।
कार्यक्रममा मन्त्रालयका प्रतिनिधिहरु, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक मुगल प्रसाद साह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्री प्रसाद गैरे, ससस्त्र प्रहरी, जनपथ प्रहरी, मकवानपुर उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु, कुखुरा व्यावसयाी संघका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।







