हेटौंडा अस्पताललाई पुनः रिफर सेन्टर बनाउने निर्णयविरुद्ध हेटौंडामा विरोध प्रदर्शन
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञानबाट हेटौँडा अस्पताललाई अलग बनाएर पुरानै अवस्थामा फर्काउने गरी अध्यादेश ल्याउने निर्णय विरुद्ध हेटौंडामा विरोध प्रदर्शन भएको छ ।
अध्यादेशको ल्याएकोमा नेकपा एमाले निकट जनवर्गीय संगठनले हेटौँडामा विरोध गरेका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजनीतिक प्रतिसोध साँध्नको लागि बागमती प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा विकास भैरहेको अस्पताललाई पुनः पुरानै अवस्थामा ल्याउने गरि अध्यादेश ल्याउनु मकवानपुरे जनताको स्वास्थ्य माथिको खेलवाड भएको भन्दै एमालेका जनवर्गीय संगठनले विरोध गरेका हुन् ।
जनवर्गीय संगठनका नेताहरुले हात तथा टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रर्दशन गरेका थिए । उनिहरुले बागमती प्रदेश सरकारले जनविरोधी काम गरेको भन्दै अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।“स्वास्थ्य विज्ञान प्रतिष्ठान सार्न पाईदैन, जनता मार्न पाईदैन” नारा सहितको प्लेकार्ड बोकेका युवाहरुले प्रर्दशन गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग गर्न नहुने बताए ।







