‘हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न मिल्दैन’–मेयर महत

अखबार हब
२०७८ चैत्र २३, बुधबार २१:२७

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न नमिल्ने बताएका छन् ।

आज (बुधबार) साँझ विज्ञप्ती जारी गर्दै प्रदेश सरकारको यो निर्णय तत्काल बदर गर्न माग गरेका हुन् । हेटौंडा उपमहानगरबसीको गौरवका रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई बागमती प्रदेश सरकारले अलग गर्नेगरी अध्यादेश जारी गर्ने निर्णयले आफूलाई गम्भिर बनाएको उनले बताए ।

प्रतिष्ठान र अस्पताललाई अलग गर्ने निर्णय नगरवासीलाई मान्य नहुने मेयर महतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण गर्नुपर्ने निर्णयले तत्काल अस्पताल पनि निर्माण भइहाल्ने अवस्था नरहेको बताउँदै उनले प्रतिष्ठानले चिकित्सा शिक्षा अध्यापन गराउनका लागि एक सय बेडको अस्पताल हुनुपर्ने प्रावधान राखेकोले तत्काल समस्या हुने भएकाले निर्णय बदर गर्नुपर्ने मेयर महतले माग गरे । । हेटौंडा अस्पतालबाट अलग गरेपछी प्रतिष्ठानको प्रयोगात्मक सिकाईका लागि भरतपुर अस्पतालमा गर्ने निर्णय नगरवासीहरुलाई मान्य नहुने बताए ।

प्रदेश सरकारले अध्यादेशमार्फत गरेको निर्णयको उनले खेद व्यक्त गरे। हेटौंडामा नै चिकित्सा शिक्षा अध्यापन गराउने र प्रतिष्ठान मार्फत अस्पताल सञ्चालन गरिए पछि सेवामा निकै सुधार आएको थियो । तत्कालिन सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने खेलमा अहिलेको सरकार लागेको उनको ठम्याई छ । सामान्य ५० शैयामा सिमित रहेको हेटौंडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रुपान्तरण गर्ने काममा बर्तमान सरकारले अबरुद्ध गरेकोमा उक्त कदम खेदजनक रहेको उनले बताए।

शिक्षण अस्पतालका रुपमा विकास गर्न प्रतिष्ठानमार्फत धमाधम भवन निर्माण भइरहेका छन् भने आईसियु, एचडियु, अक्सिजन प्लान्ट, डायलसिस सेन्टर, सिटि स्क्यान, एमआरआई, भेन्टिलेटर लगायतका सेवाहरु विस्तार भइरहेको उनले बताए । ५० शैया, ३ सय शैया हँुदा हाल ५ सय शैयामा पुग्ने क्रममा रहेको अस्पताललाई प्रतिष्ठानमार्फत् नै सञ्चालन गर्नुपर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*