हेटौंडा – ९ का ३ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

अखबार हब
२०७८ चैत्र २१, सोमबार २१:०८

मकवानपुर । हेटौंडा – ९ का करिब तीन हजार भन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशव्यापी रुपमा सुरु भएको टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम हेटौंडा –९ बाट २५ चैतदेखि सुरु गरिने भएको हो ।

वडाका करिब ३ हजार ३ सय बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको लामसुरे शहरी स्वास्थ्य केन्द्र हेटौंडाले जानकारी दिएको छ । खोप अभियान अगाडि सोमबार अभिमुखीकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य केन्द्रकी इञ्चार्ज मिना कुमारीका अनुसार वडा स्तरबाटै खोप कार्यक्रम सञ्चालन हुँदैछ । १५ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडले धेरै असर गर्ने भएकाले सोही उमेर समुहलाई लक्षित गरेर खोप लगाइने इञ्चार्ज कुमारीले बताइन् ।

६ दिनसम्म खोप अभियान सञ्चालन हुनेछ । अभियानको सुरुवातमा विद्यालयमै पुगेर खोप लगाइने इञ्चार्ज कुमारीले जानकारी दिएकी छन् । २५ चैतमा लामसुरेको प्रगती माविबाट खोप कार्यक्रम सुरु हुनेछ । २६ गते मोर्डन मावि, २७ गते कृष्ण आदर्श मावि, २८ गते दिव्य ज्योति प्रावि, २९ गते रस्सल एकेडेमी र त्रिवेणी आधारभूत विद्यालय र ३० गते विद्यालय नजाने तथा छुटेका बालबालिकाहरुलाई लामसुरे शहरी स्वास्थ्य केन्द्रमै खोप लगाएर अभियान समापन हुने जनाइएको छ । सोमबार आयोजित अभिमुखीकरणमा खोप लगाउँदा ध्यान दिनुपर्ने प्राविधिक विषय र खोपका कारण हुनसक्ने सम्भावित असरको बारेमा जानकारी गराइएको थियो ।

हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य लक्ष्मी नेपाली, टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–९ का अध्यक्ष यदुवंश खतिवडा, लामसुरे शहरी स्वास्थ्य केन्द्र व्यवस्थापन समिति उपाध्यक्ष बिनोद लामिछानेलगायतको आतिथ्यता रहेको अभिमुखीकरणमा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, वडाका जनप्रतिनिधि, वडा भित्रका विद्यालयका प्रतिनिधि, युवा क्लब, बाल क्लब, टोल विकास संस्था, आमा समूह तथा महिला समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*