हेटौंडाका विद्यालयहरुमा अध्यापन गराउँदै आएका १४ जना शिक्षकलाई स्वर्णिम अवकाश दिइँदै
मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षकहरुका लागि ल्याइएको अवकास योजनाको कार्यबिधि अनुसार १४ जना शिक्षकलाई स्वर्णिम अवकास दिइने भएको छ । शिक्षकहरुले दिएको निवेदनका आधारमा प्राथमिकताका साथ स्वर्णिम अवकास योजनाबाट बिदाई गर्न लागिएको मेयर हरिबहादुर महतले बताए।
उनीहरुले दिएको निवेदनका आधारमा बढीमा पाँच लाख रुपैयाँसम्म एक जना शिक्षकले रकम प्राप्त गर्नेछन् । लामो समय अवधिसम्म शिक्षकका रुपमा कार्यरत रहेको र अवकास पाएका शिक्षकहरुलाई स्वर्णिम अवकास योजनामा रकम दिएर बिदाई गरिने मेयर महतले बताए । यस काम अन्तरगत अब शिक्षकको खातामा रकम वितरण मात्र गर्न बाँकी रहेको र यो छिट्टै रकम निकासा गरिने उनले बताए।
हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका विद्यालयहरुमा अध्यापन गराउँदै आएका शिक्षकहरुले मासिक रुपमा तलब पाउन थालेका छन् । पहिले चार चार महिनामा मात्र तलब लिँदै आएको भएपनि अहिले भने मासिक रुपमा तलब दिने व्यवस्था गरिएको महतले बताए । बिद्यालयबाट शिक्षकलाई तलब माग भएबमोजिम अहिले भुक्तानी हुँदै आएको उनले बताए ।







