सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीलाई फलफूल
मकवानपुर । राष्ट्रिय सहकारी दिवसको अवसरमा हेटौंडा अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ ६५ औं सहकारी दिवसका क्रममा शनिबार हेटौंडमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)मा उपचाररत बिरामीहरुलाई फलफूल बितरण गरिएको हो ।
राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको आयोजना, मकवानपुर दुग्ध सहकारी संघ, बहुउद्देश्यीय सहकारी संघ मकवानपुर, कृषि सहकारी संघ मकवानपुरको व्यवस्थापनमा हेटौंडा अस्पतालका विभिन्न वार्डमा उपचाररत बिरामीहरुको स्वास्थ्यलाभको कामनासहित फलफूल वितरण गरिएको कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामीले बताए ।
बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षता भएको कार्यक्रममा भूमि ब्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्रालयका रजिष्ट्रार नारायण प्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक नारायण प्रसाद देवकोटा, अस्पतालका रजिष्ट्रार राजेश प्रसाई, राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमती प्रदेश बचत तथा ऋया सहकारी संघका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, जिल्ला दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष धर्मराज लामिछाने, बातमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहल, जिल्ला कृषि सहकारी संघ मकवानपुरका सञ्चालक राजु दर्लामी, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख रामेश्वर अर्याल, नेप्सकुन हेटौडा फिल्ड सदस्य राजु गौतम लगायतको सहभागिता रहेको थियो ।
सहकारी दिवसकै अवसरमा भोली आईतबार ¥याली सहित प्रवचन, सम्मान वितरण र साँझ दीप प्रज्वलनसहित समापन गरिने मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले बताए ।







