प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी मोदीसँग भेटवार्ता गर्ने
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । तीनदिने औपचारिक भारत भम्रणमा रहेका देउवाले आज नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेका हुन् ।
प्रधानमन्त्री देउवा र मोदीले जनकपुर–जयनगर रेल उद्घाटन गर्ने कार्यक्रम छ । आजै दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनलाई संयुक्तरुपमा सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो साढे ४ बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि हिजो प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा पुगेका थिए । भाजपा अध्यक्ष जेपी नड्डा, विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायत शीर्ष नेताहरूले उनलाई स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवासँग हिजै साँझ भारतका विदेशमन्त्री डा। एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका थिए ।







