सरकार फेरबदलमै बित्यो बागमती प्रदेशको हिउँदे अधिवेशन
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकार स्थापना भएपछिको यो नवौं अधिवेशन हो । यस अधिवेशन अधिकांश समय सरकार फेरबदल र अवरुद्ध रह्यो । हिउँदे अधिवेशनमा १२ वटा बैठक बसेको थियो । यो अधिवेशनमा दुईवटा सरकार फेरियो । अष्टलक्ष्मी शाक्यले असोज २४ मा हिउँदे अधिवेशनको आह्वान गरेकी थिइन् । सरकार अल्पमतमा रहेकै समयमा अधिवेशन आह्वान भएको थियो ।
कात्तिक १० मा उनले राजीनामा दिएपछि कात्तिक ११ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका थिए । पाण्डेले कात्तिक २२ मा विश्वासको मत लिनका लागि बैठक बोलाएका थिए । त्यसपछि एकै पटक पुस ८ गते बैठक बस्यो । ८ र ९ मा दुई दिन बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालले अवरोध गरेपछि स्थगित भएको थियो । त्यसपछि फागुन १४ का लागि बोलाइएको बैठक बस्न सकेन । फागुन २९, ३० र चैत ८ मा बैठक बसेपछि हिउँदे अधिवेशन अन्त्य भएको हो ।
अर्को अधिवेशन बजेटमाथिको छलफलमा केन्द्रित हुने र छिट्टै आह्वान गर्ने सरकारको दाबी छ । यस अधिवेशनमा विपक्षी दलहरूले गठबन्धन सरकारविरुद्ध मोर्चाबन्दी गरेका थिए । सरकारले खासै चित्त बुझ्दो जवाफ नदिए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्रै विवाद भएपछि प्रदेशसभा सञ्चालन भएको थियो ।
एमालेभित्र सदन अवरुद्ध कायम राख्ने र खुलाउने भन्ने विषयमा विवाद भएपछि एमाले संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्य सदन सुरु गर्ने निर्णयमा पुगेकी थिइन् । उनले बोल्ने स्थान नभएको भन्दै सरकारविरुद्धको विषय सदनमै राख्न आफ्नो सांसदहरूलाई समेत आग्रह गरेकी थिइन् ।







