व्यवस्थापन समितिको लापरबाहीले शिक्षाबाट बञ्चित बन्दै वालजीवन ज्योतिका विद्यार्थी

राममणि न्यौपाने
२०७८ चैत्र १५, मंगलवार १९:३७

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नं. १ स्थित एक विद्यालयमा व्यवस्थापन समितिको मनोमानी देखिएको छ । मनहरी १ मकरीमा अवस्थित श्री वालजीवन ज्योति माविको आफूखुसी निणर्यले विद्यार्थीहरु उचित शिक्षा पाउनु पर्ने अधिकारबाट बञ्चित भएका हुन् ।

उक्त विद्यालयमा विभिन्न बाहनामा विद्यार्थीले विगत केहि दिनदेखि पूरा समय विद्यालयमा शिक्षा पाउनु पर्ने अधिकारबाट बञ्चित भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको बैठक त कहिले शिक्षकको परीक्षाको बाहनामा उक्त विद्यालयका ५ सयभन्दा बढी विद्यार्थीहरुले करिब ३ दिनदेखि पुर्णरुपमा कक्षामा अध्ययन गर्न पाइरहेका छैनन् ।

गत आइतबार विद्यालय व्यवस्थापन समितिको बैठकको नाममा दिउँसो १ बजे बाट विद्यालयको पठनपाठन बन्द गरियो भने सोमबार पुनः व्यवस्थापन समितिको मिनी भेला भन्दै बिहान ११ बजेबाट १ घण्टी कक्षा सञ्चालन गरेर विद्यालय बन्द गरियो । जबकी शिक्षा निर्देशिकाअनुसार विद्यालय व्यवस्थापन समितिको बैठकको नाममा कक्षाको पठनपाठन बन्द गर्न नहुने व्यवस्था रहेको छ ।

यस विषयमा हामीले उक्त विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद खनाललाई बैठकको नाममा विद्यालय किन बन्द गर्नु भयो ? भनेर प्रश्न गर्दा उनले जवाफ दिन आनाकानी गरे ।

विद्यालयका प्रधानाध्यापक एकराज गौतमले भने आइतबार शिक्षक शिक्षा सेवा आयोगको परीक्षामा गएका कारण विद्यालयको पठनपाठन १ बजेबाट बन्द गरिएको बताए । त्यसैगरी सोमबार विद्यालय व्यवस्थापन समितिको मिनी भेलाको कारण शिक्षक बैठकमा बस्नु पर्ने भएकाले १ घण्टीपछि विद्यालय बन्द गराउनु परेकोे बताए ।

यता मनहरी गाउँपालिकाका शिक्षा शाखाका पूर्णभद्र लम्सालले भने बैठकको नाममा विद्यालय बन्द गरिनु व्यवस्थापन समितिको गैरजिम्मेवारी रहेको बताए । उनले भने– ‘विद्यालय खुलेपछि पुर्णरुपमा कक्षा सञ्चालन हुनुपर्छ, अन्यथा विद्यालयको आन्तरिक बिदाबाट मिलान हुनेगरी विद्यालय बिदा दिनुपर्छ ।’ यस विषयमा विद्यालय व्यवस्थापन समितिलाई ध्यानकर्षण गराउने उनले बताए ।

१८ जना शिक्षक रहेको उक्त विद्यालयमा बिगत ३ दिनदेखि ८ जना शिक्षक शिक्षक सेवा आयोगको परीक्षा भन्दै बिदामा बसेका छन् भने बाँकी शिक्षकसमेत अन्य बाहनामा बिदामा बस्दा प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । शिक्षा सेवा आयोगले आज (मंगलबार)बाट परीक्षा सञ्चालन गरेको छ ।

विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि केहीदिन यता बालजीवन ज्योति माविमा पठनपाठन प्रभावित भएको छ । कोरोना महामारी सुरु भएदेखि अस्तव्यस्त बनेको यहाँको शैक्षिकसत्र पछिल्लो पटक विद्यालय व्यवस्थापन समितिको गैरजिम्मेवारी र आयोगको परीक्षाले थप प्रभावित बनेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*