देउवाले भने – ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’

अखबार हब
२०७८ चैत्र १४, सोमबार १५:४४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ०७४ सालको संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल भएको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानुपर्ने बताएका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विपक्षमा धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सहज हुने बताएका हुन् ।

‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

विगतमा माओवादीले आफूलाई समेत गोली हानेको प्रसंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस्, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’

बैठकमा गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँणले सरकार बनाउँदा नै तीनै तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको बताए । ‘त्यो सहमति कांग्रेसले तोड्नुहुँदैन, गठबन्धन बचाउनु पर्छ। गठबन्धन गर्दा कांग्रेसको संगठन पनि बिगार्नु हुँदैन’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*