पल शाहलाई खोज्न फिल्म हलहलमा चहार्दै प्रहरी
काठमाडौं। जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको जाहेरी परेपछि प्रहरीले कलाकार पल शाह (पूर्ण विक्रम शाह) को खोजी गर्न फिल्महलसम्म धाउन थालेको छ। एक नाबालिका गायिकाका परिवारले तनहुँमा बुधबार बलात्कार आरोपको जाहेरी दिएपछि प्रहरीले खोजी शूरु गरेको हो।
बुधबार साँझ पल शाहको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रिमियर शो राखिएको कीर्तिपुरको एउटा सिनेमा हलमै प्रहरी पुगेको थियो। कीर्तिपुर सिनेप्लेक्समा फिल्मको प्रिमियर भइरहँदा महानगरीय प्रहरी वृत्तका प्रहरी पुगेका थिए। हलभित्र भने नछिरेका प्रहरीले हलबाहिर भने निगरानी गरेका थिए। ७ बजे शुरु फिल्मको प्रिमयरमा अवधिभर प्रहरीहरू हलबाहिर बसेका थिए। तर कार्यक्रममा पल भने उपस्थित देखिएनन्।
सुदर्शन थापा र पूजा शर्माद्वारा निर्मित म यस्तो गीत गाउँछु २ मा पल शाह मुख्य भूमिकामा छन्। कार्यक्रममा अरू कलाकार र निर्माण टिमका सदस्य भने उपस्थित थिए। फिल्म भने शुक्रबाट हलहरूमा लाग्दैछ। शाहलाई पक्राउ गर्न तनहुँ प्रहरीले काठमाडौं प्रहरीलाई पनि जानकारी गराइसकेको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले बताए।
नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन्।







