झरनाले तेस्रो ‘बकैया कला–साहित्य महोत्सव’ गर्दै
मकवानपुर । झरना साहित्यिकले पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ आयोजना गर्ने भएको छ । झरना साहित्यिक मकवानपुरले आफ्नो २९औं वार्षिकोत्सवको अवसरमा तेस्रो ‘बकैया कला–साहित्य महोत्सव–२०७८’ गर्ने तयारी सुरु गरिएको झरनाका सचिव मसान उपासकले जानकारी दिए ।
आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव उपासकले आउँदो फागुन २७ र २८ गते बकैया–३ हात्तीसुँडेस्थित बुद्ध माविको प्राङ्गण र गाउँपालिकाको सभाहलमा साहित्य महोत्सवको तयारी रहेको बताए । २०५० साल फागुन १२ गते तत्कालिन छतिवन गाविसमा स्थापना भएको झरनाले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा बहत् साहित्य गोष्ठी गर्दै आएकोमा पछिल्ला २ वर्ष (२०७६) देखि बकैया साहित्य महोत्सव आयोजना गर्दै र यसवर्षबाट स्थानीय कलासंस्कृतिको समेत जगेर्ना गर्ने उदेश्यले बकैया कला–साहित्य महोत्सव गर्न लागिएको सचिव उपासकले बताए ।
उनले दुई दिवसीय महोत्सवका क्रममा कविता, गजल, मुक्तक विशेष कार्यक्रम हुने बताए । महोत्सवमा स्थानीय कला कलासंस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले खैंजडी भजन, तामाङ, माझी,राई लगायत जनजातिका कलाको प्रदर्शनीका साथै पुस्तक प्रदर्शनी हुने सचिव उपासकले बताए ।
उनले देशभरबाट ५० जना साहित्यकारहरु र बकैया गाउँपालिकाका राजनीतिक,सामाजिक अगुवासहित करिब ५ सय जनाको उपस्थिति रहने बताए । साहित्य महोत्सवमा करिब ५ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।
यसैगरि,पत्रकार सम्मेलनमा बोल्दै झरनाका अध्यक्ष दीपक गौतमले कला–साहित्य महोत्सवमा साहित्य बहसमूलक कार्यक्रम हुने बताए । उनले सरकारले साहित्य क्षेत्रलाई उपेक्षा गरेको टिप्पणी गर्दै स्थानीय साहित्य कलालाई सम्मान गर्न स्थानीय स्तरमै साहित्यक कार्यक्रमहरु गर्न आवश्यक रहेको औल्लाए । उनले आफुहरुले गर्न लागेको कला–साहित्य महोत्सवले साहित्य क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
यसैगरि,झरना साहित्यिक परिवार मकवानपुरले यस वर्ष साहित्य क्षेत्रमा विविध किसिमले योगदान पुर्याउने १० जनालाई विभिन्न सम्मानहरू प्रदान गर्ने भएको छ ।
यस वर्षको होमनाथ–टीकामाया प्रतिभा सम्मान बाट नगद २१,१२१ सहित अग्रज साहित्यकार एवं प्राज्ञ डा।देवी नेपाल (भक्तपुर), शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मानबाट १५,५५५ सहित अग्रज मुक्तककार वियोगी बुढाथोकी (काठमाडौं), बाबुलाल–भोजमाया स्मृति प्रतिभा सम्मानबाट नगद १५,५५५ सहित अग्रज साहित्यकार आर सी रिजाल (मकवानपुर),खडानन्द मनमाया स्मृति युवा प्रतिभा सम्मानबाट नगद ७,७७७ सहित युवा कवि यात्रीप्रकाश पाण्डे (धादिङ),सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मानबाट नगद ७,७७७ सहित युवाकवि शान्ति प्रियवन्दना (मकवानपुर) लाई सम्मान गर्ने भएको छ ।
यसैगरि, सञ्जीवनी बुटी साहित्य सेवा सम्मानबाट नगद ७,७७७ सहित साहित्यसेवीरसमाजसेवी बेलप्रसाद दाहाल (बकैया–४,मकवानपुर), खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मानबाट नगद ७,७७७ सहित कलाकार बाबुलाल वाईवा मकवानपुर, झरना–बकैया पत्रकारिता सम्मानबाट नगद ७,७७७ सहित स्व पत्रकार गोकर्ण गौतम (मरणोपरान्त) बकैया,झरना–बकैया उत्कृष्ट नवप्रतिभा सम्मानबाट ५,००५ सहित उदीयमान गजलकार विजय दोङ (बकैया–५) र झरना–बकैया उत्कृष्ट बालसाहित्य समिति सम्मानबाट सम्मानपत्र र १० थान विशेष पुस्तकसहित झरना महेन्द्र बालसाहित्य समिति (महेन्द्र मावि बकैया ४) सम्मानित हुने झरना साहित्यिक परिवार मकवानपुरले जनाएको छ ।







