चन्द्रागिरीमा वडास्तरीय कप फुटसल प्रतियोगिता हुँदै

अखबार हब
२०७८ मंसिर २१, मंगलवार १५:०६

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा कप फुटसल तथा प्रथम चन्द्रागिरी वडा जनप्रतिनिधि÷कर्मचारी कप फुटसल प्रतियोगिता यही मङसिर २४ र २५ गते मत्स फुटसल एरिना , मच्छेगाउँमा आयोजना हुने भएको छ ।

पश्चिम संयुक्त क्लबको संयोजन तथा चनपाद्वारा आयोजित सो प्रतियोगितामा नगरभित्रका १५ वडाका १८ टिमबीच प्रतिष्पर्धा हुनेछ । साथै सोही अवसरमा विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारीका बीच पनि प्रतिष्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः रु ८० हजार र रु ४० हजारसहित ट्रफी र पदक र अन्य पाँच विधामा उत्कृष्ट हुनेलाई पाँच हजारसहित पदक प्रदान गरिने छ । ती विधामा उत्कृष्ट टिम, खेलाडी, गोलकर्ता र किपर छन् ।

प्रतियोगिताका बारेमा जानकारी दिन क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रामनारायण घिमिरेले भने, ‘फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ । नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ । प्रतियोगिताले फुटसल प्रवद्र्धन गर्न सहयोग समेत गर्ने छ।’

कोरोना कहरले आक्रान्त खेलकूद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले कोशेढुङ्गाको काम गर्ने क्लबका उपाध्यक्ष साजन महर्जनले बताए। पछिल्लो समय युवापुस्ताका बीचमा फुटसल लोकप्रिय बनिरहेको छ। ‘स्वास्थ्यका लागि खेलकूद , राष्ट्रका लागि खेलकूद’ भन्ने नाराका साथ क्लवले खेलकूदका विभिन्न गतिबिधि सञ्चालन गर्दै आएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय नियमलाई पालना गरी खेलाइने आयोजकले जनाएका छन्।

नगरपालिकाले पनि खेलकूद विकासमा उच्च प्राथमिकता दिँदै आएको छ । नगरप्रमुख घनश्याम गिरीले युवापुस्तालाई खेलकूदमा थप आकर्षित गरी खेल क्षेत्रको विकास गर्न नगरपालिकाले गतवर्षदेखि प्रतियोगिता आयोजना गरेको जानकारी दिए। उनले भने, ‘युवा समाजका परिवर्तनका संवाहक शक्ति हुन्। उनीहरुको क्षमता र प्रतिभा विकासमा सबैले सहयोग गर्नुपर्छ । यसलाई खेलकूदले सहयोग गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published.


*