अन्तरपालिका फुटबल प्रतियोगितामा हेटौँडा उपमहानगरको विजयी सुरुवात
मकवानपुर। जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा प्रथम जिल्लास्तरीय (अन्तरपालिका) फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा हेटौँडा उपमहानगरपालिकाले विजयी सुरुवात गरेको छ ।
हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाबीच भएको खेल १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको हो । हेटौँडा उपमहानगरपालिकाको लागि जर्सी नम्बर ६ का फत्तेमान घलेले ३४ मिनेटमा गोल गरेका हुन् र मनहरी गाउँपालिकाको लागि जर्सी नम्बर १० का माइला स्याङ्तानले ५४ मिनेटमा गोल गरे । पेनाल्टि सुटआउटमा ४–३ अन्तरले हेटौँडा उपमहानगरपालिका विजयी भएको हो ।
प्रतियोगितामा १० वटा टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ट्रफिसहित २ लाख र उप–विजेताले १ लाख प्राप्त गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामाले जानकारी दिए ।







