कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै छैन : थापा

अखबार हब
२०७८ कार्तिक १७, बुधबार १६:५१

काठमाडौँ । कांग्रेस नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लैले प्रचण्ड बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने बताएका छन् । उनले अबका चुनावमा कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने बताए ।

‘कांग्रेस एक्लै चुनाव लड्छ, सानदार ढंगले लड्छ । र, प्रचण्ड बहुमत ल्याएर चुनाव जित्छ । पाँच वर्षसम्म कांग्रेसले एकलौटी सरकार चलाउँछ । त्यतिञ्जेलमा कांग्रेसले यत्रो समयदेखि थुप्रिएर रहेका समस्याहरुको समाधान गर्नुपर्नेछ,’ भक्तपुरको गुण्डुमा बुधबार कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘अब हामीसँग धेरै समय छैन ।’

उनले कांग्रेसको कसैसँग मिलेर चुनाव लड्ने ‘क्यारेक्टर’ नै नभएको दाबी गरे । ‘हामीले कसैसँग मिलेर चुनाव लड्छौँ भन्दैमा हाम्रो कार्यकर्ताले अर्को पार्टीलाई गएर भोट हाल्दैनन् । मेरो निर्वाचन क्षेत्रमा मैले २५ हजार मत पाएँ । मैले मेरो पार्टीका क्रियाशील सदस्यलाई दुई गुणा गर्दा, मेरो सम्पर्कमा भएका समेतगरी १० हजार मान्छे चिनौँला, बाँकी रहेको १५ हजार भोट कसले हाल्यो ? मलाई नै थाहा छैन,’ उनले प्रश्न गर्दै भने, ‘अनि मैले मेरो निर्वाचन क्षेत्र हो भनेर अर्कोसँग तालमेल गर्दैमा त्यो भोट त्यता जाने हो र ?’

नेता थापाले आगामी निर्वाचनमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने बताए । ‘हाम्रो पार्टीका सबै नेता, कार्यकर्ताले संकल्प गर्नुपर्नेछ, यो पटकको सबै चुनावमा नेकपा एमालेलाई बढार्ने हो । कुचो लगाएर बढार्ने हो । बढार्दा खेरि कहीँ कतै कुना–काप्चामा बाँकी रहेछ भने त्यसलाई भ्याकुम लगाएर बढार्ने हो,’ थापाले भने । उनले एमाले अध्यक्ष केपी ओलीले सिंगल–सिंगल भिड्ने भनिरहेको भन्दै एमालेलाई सिंगल भिडेर देखाउन चुनौती दिए । ‘उहाँले ‘सिंगल–सिंगल आइज’ भनिरहनुभएको छ । खासमा सिंगल भिड्न नसक्ने उहाँहरु नै हो । सिंगल–सिंगल भिडेर एमाले सरकारमा आएको इतिहास नै छैन । सिंगल भिड्दा उहाँहरु सधैँ तेस्रो हो,’ उनले भने, ‘हामी त सधैँ सिंगल–सिंगल भिडिरहेका छौँ ।’

यसमा तपाइको मत

Your email address will not be published.


*