अफगानिस्तानको दोस्रो जित

अखबार हब
२०७८ कार्तिक १४, आईतवार १९:३६

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले आज नामिबियालाई ६२ रनले हराएको छ ।

आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेट गुमाएर १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रनमात्र बनाउन सक्यो ।

जितसँगै सुपर–१२ को समूह दुईमा रहेको अफगानिस्तानले तीन खेलबाट चार अङ्क जोडेको छ । अफगानिस्तान दोस्रो स्थानमा छ । तीन खेलबाट ६ अङ्क जोडेको पाकिस्तान शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अङ्क जोडेको नामिबिया तेस्रो स्थानमा छ ।

अफगानिस्तानका नाबीन उल–हक, हमिद हसनले समान तीन तथा गुलबादिन नाइबले दुई र रसिद खानले एक विकेट लिएपछि नामिबियाका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।

नामिबियाका डेबिड विजले सबभन्दा धेरै २६, निकोल लोफ्टी–इटोनले १४, कप्तान गहार्ड इरासमसले १२, मिचेल भान लिनगेनले ११ रन बनाए । रुबेन ट्रम्पेलमन १२ रनमा अविजित रहे ।

त्यसअघि १६० रन बनाउने क्रममा अफगानिस्तानका ओपनर हजरतुल्लाह जजई र मोहम्मद शाहजादले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुआत दिएका थिए । जजईले २७ बलमा चार चौका र दुई छक्कासहित ३३ रन बनाए । शाहजादले ३३ बलमा तीन चौका र दुई छक्कासहित ४५ रन बनाए ।

आजको खेलपछि सन्यास लिने घोषणा गरेको पूर्व कप्तान अस्घर अफघानले ३१ रन जोडे । उनले २३ बलमा तीन चौका र एक छक्का प्रहार गरेका थिए । कप्तान मोहम्मद नाबीले अविजित ३२ रन बाए । नाबीले १७ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

नामिबियाका रुबेन ट्रम्पेलमन र जन निकोल लोफ्टी–इटोनले समान दुई विकेट लिँदा जेजे स्मितको नाममा एक विकेट रह्यो ।

पहिलो खेलमा स्कटल्यान्डलाई १३० रनले हराएको अफगानिस्तान दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटले पराजित भएको थियो । नामिबियाले भने स्कटल्यान्डलाई चार विकेटले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*