ओलीले बालुवाटारमा हेली प्याड बनाएर भ्रष्टाचार गरे : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा भ्रष्टाचारले सीमा नाघेको दाबी गरेका छन् ।पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
‘म प्रधानमन्त्री हुँदा देशमा यस्तो भ्रष्टाचार थिएन । अहिले त अहो, कति हो कति भ्रष्टचार भएछ हाम्रो देशमा। सबैभन्दा भ्रष्टाचार त केपी ओलीको पालमा पो भएको रहेछ,’ नेपालले भने, ‘ओली प्रधानमन्त्री हुँदा बालुवाटारमा हेली प्याड बनाएर भ्रष्टाचार गरेका रहेछन् । मलाई थाहा हुँदैछ ।’
देशमा भ्रष्टाचारले सीमा नाघेको भन्दै चिन्ता प्रकट गर्दै अहिले देशमा सुशासन ल्याउने पार्टी आवश्यक भएको नेपालले तर्क गरे । ‘म भ्रष्टाचार गर्दिनँ र गरेको पनि सहदिनँ भन्ने तर भ्रष्टाचारीलाई नै संरक्षण गर्ने । यस्ता गफाडीको हातमा यो देश गयो,’ उनले भने । ओलीले बालुवाटारमा हेली प्याड बनाएकोबारे आफूलाई भर्खरै मात्र थाहा भएको नेपालले जिकिर गरे ।
‘अस्ति पो प्रधानमन्त्रीले बाढीपहिरो हेर्न जानुपर्यो मन्त्रीहरूलाई बालुवाटार पठाइदिनुस् भने । किन भनेको त त्यहीं पो हेली प्याड रहेछ । किन चाहियो बालुवाटारमा हेली प्याड ? त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुपर्यो । जम्मा १० मिनेटमा पुगिन्छ,’ नेपालले भने । शीतल निवासमा पनि हेली प्याड बनाउन ओलीले योजना ल्याएको भन्दै नेपालले विरोध जनाए । ‘बालुवाटार र शीतल निवासमा हेली प्याड बनाउने योजनाको म विरोधी हुँ,’ नेपालले भने ।







