एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन, दुइवटामा सकियो
मकवानपुर । एमाले मकवानपुरको आठ वटा स्थानीय तहमा आज अधिवेशन हुँदै छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा भने पालिका अधिवेशन सकिएको छ । नेकपा एमाले मकवानपुरको जिल्लाभरको स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन आज हुने भएको हो । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा देशभर कात्तिक ९ गते पालिका अधिवेशन भएको थियो तर मकवानपुरमा भने हुन सकेको थिएन ।
कात्तिक ९ गते प्राविधिक कारणले हुन नसकेको पालिका अधिवेशन आज जिल्लाभरको पालिकाहरुमा एकसाथ अधिवेशन तयारी पुरा भएको एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठले बताए ।
उनले जिल्लाको राक्सिङ र कैलाश गाउँपालिकामा क्रमशः बिहिबार र शुक्रबार सर्वसम्मत नयाँ नेतृत्व चयन भएको बताउँदै आज हेटौंडा उपमहानगरपालिका सहित ८ वटा पालिकामा अधिवेशन हुने बताए ।
सचिव श्रेष्ठका अनुसार हेटौंडा उपमहानगरपालिको अधिवेशनलाई एमाले नेता लुम्बिनि प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसैगरि मकवानपुरगढी गाउँपालिकाको अधिवेशनलाई एमाले नेता बागमती प्रदेशको पूर्व मुख्यम्रन्त्री डोरमणी पौडेलले र थाहा नगरपालिको अधिवेशनलाई एमाले नेता पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्ने कार्यक्रमरहेको सचिव श्रेष्ठले बताए ।
यसैगरि पूर्वी मकवानपुरको बागमती गाउँपालिको अधिवेशनलाई एमाले नेता पूर्व खानेपानी तथा सरसफाइ मन्त्री मणि थापाले र बकैयाको अधिवेशनलाई एमाले नेता एवं प्रतिनिधिसभाको अर्थ समितिको सभापति कृष्ण दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सबै पालिकाहरुमा सर्वसम्मत नयाँ नेतृत्व सहित कमिटी निमार्ण हुने एमाले मकवानपुरले जनाएको छ ।
पार्टीको नयाँ विधानबमोजिम गाउँ(नगरपालिकामा ७५, उपमहानगरपालिकामा ८५ र महानगरपालिका एक सय एक सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन् ।
आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दसौँ महाधिवेशन बागमती प्रदेशको चितवनको नारायणी किनारमा उद्घाटन र सौराहामा समापन हुने बताईएको छ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।
कैलाश एमालेमा पुन्य भण्डारी
कैलाश एमालको अध्यक्षमा पुन्य भण्डारी चयन भएका छन् । शुक्रबार भएको पालिका अधिवेशनले भण्डरीको नेतृत्वमा सर्वसम्मत ७५ सदस्सीय पालिका कमिटी निमार्ण भएको छ । कमिटीको उपाध्यक्षमा छेकु लामा,सचिवमा राजकुमार गोले,उपसचिवहरुमा गौरी बर्तौला र ओम कुमार मोक्तान चयन भएका छन् ।







