पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश
नेकपा (एकीकृत समाजवादी) बागमती संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेश गरिएको छ।
अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र एक वा एकभन्दा बढी दलको बहुमत सांसदको समर्थन जुटाएर दाबी गर्न आउन आव्हान गरेसँगै बुधबार नै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेको हो। दाबी पेशका लागि नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीले बहुमत सांसदको समर्थन जुटाएर प्रदेश प्रमुख कार्यालय पुगेर शर्मालाई हस्ताक्षर पत्र बुझाएका हुन्। एमाले सरकारबाट बाहिरी सकेको छ भने, विवेकशील साझा, नेमकिपा र राप्रपा सरकारमा सहभागी नहुने भएका छन्।
माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेकपा एसका १३ र जसपाका १ सांसद गरी ५९ सांसदको समर्थनमा पाण्डे मुख्यमन्त्री नियुक्त हुनेछन्। १ सय ९ सांसद संख्या रहेको बागमतीमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुख शर्माले संविधानबमोजिम नयाँ सरकार गठका लागी दाबी पेश गर्न बिहीबार ३ बजेसम्म समय तोकेका थिए।







