बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा

अखबार हब
२०७८ कार्तिक १०, बुधबार १४:३५

मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।

शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् ।

१ सय ९ सांसद रहेको बागमती प्रदेशसभामा एमाले विभाजन भएपछि सत्तारुढ दल एमालेसँग ४३ सांसद रहेका छन् । शाक्यविरुद्धको गठबन्धनसँग नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेकपा (एकिकृत समाजवादी)का १३ र जनता समाजवादीका एक गरी ५९ सांसद छन् ।

त्यस्तै, विवेकशील साझा पार्टीको ३, नेमकिपाको २ र राप्रपाको २ सांसद रहेका छन् ।

शाक्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि बाटो खुलेको छ । नयाँ सरकार गठनका लागि शाक्यविरुद्धको गठबन्धनले दाबी पेश गर्न नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सार्दै सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ ।

त्यस्तै, अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*