वागमती प्रदेशमा मुख्यमन्त्रीको नाम टुंग्याउन गठबन्धनलाई सकस
मकवानपुर । वागमती प्रदेश सरकार विपक्षी गठबन्धनमा आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय अझै सहमति हुन सकेको छैन । अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले असोज २४ गते नै सदनबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि विपक्षी गठबन्धनमा सरकारको नेतृत्वको विषयलाई लिएर विवाद उत्पन्न भएपछि मत विभाजनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । एमाले नेतृत्वको वर्तमान सरकार केही दिनमा विस्थापित हुने निश्चित भइसक्दा पनि विपक्षी गठबन्धन केन्द्रको आधिकारिक निर्णयको पर्खाइमा छ ।
केन्द्रमा रहेको कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपासहितको गठबन्धनले प्रदेशमा पनि निरन्तरता पाएको छ । प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा (एस) संसदीय दलका नेता राजेन्द्र पाण्डेको चर्चामा छ । पाण्डेले आफूले मुख्यमन्त्री पाउने सहमति गठबन्धनमा भइसकेको दाबी गर्दै आएपनि कांग्रेस र माओवादी केन्द्रले आधिकारिक निर्णय नभएको दाबी गरिरहेका छन् ।
माओवादीले मुख्यमन्त्री दाबी गरेको छैन । प्रदेशमा माओवादी पनि कांग्रेसले नेतृत्व पाउनुपर्ने पक्षमा लविङ गरिरहेको छ । जसको कारणले गर्दा पनि विपक्षी गठबन्धनमा मुख्यमन्त्रीको विषयलाई लिएर विवाद उत्पन्न भइरहेको छ । कांग्रेसका सचेतक छिरिङ दोर्जे लामाले प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय हालसम्म नटुंगिएको भन्दै अझै केही दिन लाग्ने बताए । प्रदेशसभामा मत विभाजनको प्रक्रिया सकिएपछि यो विषय टुंगिन्छ । अझैसम्म मत विभाजन भएको छैन ।’, उनले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेपछि यो विषय टुंगिने बताए । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने संसदीय दलको बैठकबाट निर्णय गरिसकेको छ ।
नेकपा (एस) संसदीय दल उपनेता कृष्ण खनालले सरकारको नेतृत्वको विषयमा केन्द्रबाटै सहमति हुने बताए । ‘हामीले नेतृत्व पाउँछौँ भन्नेमा हामी ढुक्क छौँ । प्रदेशसभाको यस बैठकबाट नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ’, उनले भने ।
एमाले विभाजनमा १३ सांसदले नवगठित नेकपा ९एस० रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्यसँग अहिले सभामुखसहित ४३ जना मात्रै सांसद छन् । प्रदेशसभामा गठबन्धनबाहिर रहेका साना दलसँगको सहकार्यमा पनि उनलाई सरकार टिकाउन आवश्यक मत पुग्दैन । सदनमा माओवादी २३, कांग्रेस २२, नेकपा (एस) १३ र जसपाको १ मत छ । सरकार बनाउन ५५ मत भए पुग्छ ।







