नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा
काठमाडौं । नेपाल साफ च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाली टोली पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो। नेपाल हालसम्म साफको सेमिफाइनलसम्म मात्रै प्रवेश गरेको थियो।
बंगलादेशका लागि सुमा रेजाले खेलको ९ औं मिनेटमा गोल गरेका थिए। नेपाली टोलीका अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका हुन्। उनको गोलसँगै नेपालले इतिहास रच्दै साफको फाइनलमा स्थान बनाएको हो।
आज राति ९ः ४५ बजे भारत र माल्दिभ्स फाइनल प्रवेशका लागि भिड्दैछ। उक्त खेलमा जित्ने टोलीसँग अब नेपालले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।







