प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उपेन्द्र यादवको पुतला दहन
पर्सा । संघीय सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा वीरगञ्जमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुतला जलाइएको छ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित यादवलाई मन्त्री नबनाएको भन्दै जसपाका स्थानीय नेता तथा कार्यकर्ताले पार्टीकै केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको पुतला जलाएका हुन्।
उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध नाराबाजीसमेत गरेका थिए। जसपाका नेता कार्यकर्ताहरुले ‘उपेन्द्र यादव देश छोड’, ‘उपेन्द्र यादव हाय हाय’, ‘हाम्रो नेता कस्तो प्रदीप यादव जस्तो’, ‘जनताको शान प्रदीप यादव’, ‘प्रदीप यादव जिन्दावाद’, ‘उपेन्द्र यादव मुर्दावाद’ लगायतका नाराहरु लगाएका थिए।
जसपा अध्यक्ष यादवले वीरगञ्जलाई जहिले पनि ठग्दै आएको र अहिले प्रदीप यादवलाई पनि मन्त्री नबनाएको भन्दै जसपा नेता कार्यकर्ताहरु आक्रोशित छन्। उनीहरुले अध्यक्ष यादवलाई काला नागको संज्ञा दिएका थिए।
यसअघि शुक्रबार राति पनि जसपा कार्यकर्ताहरुले उपेन्द्र यादवको पुतला जलाएका थिए। मन्त्रिपरिषद् विस्तारका क्रममा जसपाबाट प्रदीप यादव पनि मन्त्री बन्ने सूचीमा थियो तर शुक्रबार विस्तार गरिएको मन्त्रिपरिषद्मा जसपाबाट प्रदीपको नाम नभएपछि उनका समर्थकहरु पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सडकमा उत्रिएका हुन्।
जसबाट रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव र महिन्द्र राय यादव मन्त्री भएका छन्।







