कांग्रेस हेटौंडा उपमहानगरपालिकामा इटेनीको प्यानल नै विजयी

अखबार हब
२०७८ आश्विन १०, आईतवार ०८:११

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको सभापतिमा उत्सव इटेनी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको कांग्रेसको नगर अधिवेशनबाट इटेनीसहित उनको प्यानल नै विजयी भएको हो । नगर सभापतिका उम्मेदवार इटेनी १ सय ५२ मत अन्तरले विजयी भएका हुन् ।

नगर सभापति इटेनीले २ सय ८४ मत प्राप्त गर्दा अर्का उम्मेदवार महेन्द्र राउतले १ सय ३२ मत प्राप्त गरेका छन् । उपसभापतिमा इटेनी प्यानलबाट उम्मेदवार रहेका रामकृष्ण कोइरालाले ३ सय मत, महिला उपसभापति डोल्मा स्याङ्बोले २ सय ५७ प्राप्त गरी विजयी भएका छन् भने यता राउत प्यानलबाट उपसभापतिको उम्मेदवार रोशन गोलेले ९३ मत र महिला उपसभापतिको उम्मेदवार ज्योती कोइरालाले १ सय २६ मत प्राप्त गरी पराजित भएका छन् ।

त्यस्तै, सचिव पदका उम्मेदवार द्वय सविन न्यौपानेले २ सय ९७ मत र हर्करत्न लामाले २ सय २२ मत प्राप्त गरि विजयी भएका छन् भने सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी, राउत प्यानलका सचिव पदका उम्मेदवारद्वय कुमार पोखरेलले १ सय ६३ मत र गंगा प्रसाद पौडेलले १ सय १० मत प्राप्त गरे तर विजयी हुन भने सकेनन् । सहसचिव पदका उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत र राजकुमार जोशीले ८४ मत मात्र प्राप्त गरे जुन जितका लागि प्रयाप्त हुन सकेन । हेटौंडा उपमहानगरपालिकाका कुल ४ सय २३ जना मतदातामध्ये ४ सय २१ जनाले मतदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*