थाहा नगर कांग्रेस सभापतिको दौडमा जोशी र गोपाली
मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मकवानपुरको थाहा नगरपालिकामा नगर कमिटिको निर्वाचन हुँदै छ । नगर सभापति पदका लागि कांग्रेस थाहा नगरका दुई नेताबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
युवा नेता प्रमोदकृष्ण जोशी र अर्का नेता भरत गोपाली नगर सभापतिको दौडमा देखिन्छन् ।
दुबै नेताहरु आफु सभापति बन्नेमा ढुक्क छन् । नगर सभापतिका प्रत्यासी प्रमोदकृष्ण जोशी आफु मतदाता माझ लोकप्रिय भएको र सबै प्रतिनिधिले आफुलाई मतदान गर्नेमा बिस्वस्त भएको बताए । जोशीले पार्टी मजबुत, एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्रसम्म सम्बन्ध मजबुद बनाउन आफु प्रतिबद्ध रहेको बताए ।
त्यस्तै सभापतिका अर्का उम्मेदवार भरत गोपालीले पार्टीलाई मजबुत बनाउन आफ्नो उम्मेदवारी रहेको बताए । आफु भारी मतले बिजयी हुनेमा ढुक्क रहेको गोपालीले बताए ।
सभापति पदका अर्का आकांक्षी नवराज लामाले सहमतिका लागि र सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नका लागि आफुले उम्मेदवारी नदिने बताएका छन् ।
जिल्लाको १० मध्ये नौ स्थानीय तहमा निर्वाचनका लागि मतदान हुने भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका कार्यसमिति सर्वसम्मत हुने निश्चित भएसँगै नौ स्थानीय तहमा मात्र मतदान प्रक्रिया अघि बढ्ने भएको हो ।







